‘बिपी राजमार्ग सेल्फि खिच्न र फिल्म सुटिङलाई मात्रै हो ?’



३० जेठ, काठमाडाैं ।

सांसद गणेश पहाडीले वीपी राजमार्गमा यात्रुबस र मालवाहक सवारी साधन नचल्दा त्यस क्षेत्रका जिल्लाबासी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै सांसद पहाडीले कुनै पनि विषयमा निर्णय लिँण्दा त्यसको प्रभावको अध्ययन र मुल्याँकन गर्न पनि सचेत गराए ।

वीपी राजमार्गमा मालवाहक बस र यात्रु बस चल्न रोक लगाउने सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण केही दिनदेखि सिन्धुली, रामेछाप, ओलखढुङा, दोलखा, सोलु लगायतका बासिन्दाको जनजिवन अस्तव्यस्त हुनुका साथै महँगी बढेको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

वीपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाए लगत्तै ग्रामीण कच्ची सडकमा समेत साना गाडी चल्न नसक्ने अवस्थाका कारण सिन्धुलीको सदरमुकाम र ९ वटै स्थानीय तहसँगको सम्बन्ध र सम्पर्क विच्छेद भएको भन्दै उनले विवेकपूर्ण निर्णयका लागि सरकारको ध्यानाकर्षण गराए ।

‘अहिले सिन्धुलीका जनताहरु प्रश्न गरिरहेका छन् । के राजमार्ग भनेको सेल्फी खिच्न र फिल्म सुटिङ गर्नका लागि मात्रै हो ? कि यातायात चल्नका लागि पनि हो ?’

सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णयले वर्तमान सरकारको नीति तथा कार्यक्रममा समावेश १ बर्षभित्र भूकम्प पीडितलाई छानोमुनि ल्याउने र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग ५ बर्षभित्र सम्पन्न गर्ने भनि गरेको संकल्प पूरा हुन नसक्ने ठोकुवा गरे ।

व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका विकासमैत्री हुन सकेनन् भने सम्बृद्धि सम्भव नहुने भन्दै उनले सभामुखमार्फत सरकारसँगै राज्यका सबै निकायको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्