गाउँगाउँमा सिंहदरवारःसुनापती गाउँपालिकामा ४४३ जनाले लिए नागरिकता



१ असार, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट गाउँपालिकाका ४ सय ४३ जनाले नागरिकता प लिएका छन् । नागरिकहरुलाई गाउँघरमा नै सेवा उपलब्ध गराउने उदेश्यको साथ सञ्चालन भएको घुम्ती शिविरबाट सुनापती गाउँपालिकाभित्रका नागरिकहरुले सेवा लिएका हुन् । जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा भएको एकीकृत घुम्ती शिविरबाट ४९ जना अपाङगता भएका व्यक्तिहरुले अपाङगता परिचयपत्र लिएका छन् । अपाङगता भएका व्यक्तिहरुले घण्टौ धाएर सदरमुकाम आउदा असहज हुने भएकाले गाउँघरमा नै आएर सेवा प्रदान गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताए ।


सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाको केन्द्रबाट नागरिकहरुलाई नागरिकता,अपाङगता परिचय पत्र वितरण गर्नु निकै राम्रो काम भएको बताए । उनले भने,‘समय–समयमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर पुनः नागरिकता, अपाङगता परिचय वितरणको कार्यक्रम चलाउछौ ।’


सदरमुकाम मन्थली जादा खर्चिलो र झन्झट हुन्थ्यो, गाउँपालिकाको केन्द्रबाटै नागरिकता लिन पाउदा निकै खुसी लागेको छ, स्थानीय पदम तामाङले बताए । उनले भने,‘निर्वाचन अघि सिंहदरवारको अधिकार गाउँगाउँमा भन्थे, अहिले आएर हो कि जस्तो लाग्न थाल्यो ।’ नागरिकता र अपाङगता परिचयपत्र लिनको लागि गाउँपालिकाका ५ वटै वडाका नागरिकहरुको सहभागीता रहेको थियो ।

दुई दिनसम्म सञ्चालन भएको एकीकृत घुम्ती शिविर कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट, गाउँपालिका–१ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाई (राजु), वडा नम्बर २ दिमीपोखरीका वडा अध्यक्ष, कमल केसी, वडा नम्बर ३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङ, वडा नम्बर ४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङ र वडा नम्बर ५ खनियापानीका वडा अध्यक्ष ठूलोकान्छा तामाङ, वडा सचिव, वडा सदस्यको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्