रामेछापकाे सुनकोसी–२ जलविद्युत आयोजना चीन सरकारले बनाउने, नेपाल–चीनबीच सहमति हुँदै



५ असार, रामेछाप ।
सुनकोसी–२ जलविद्युत आयोजना चीन सरकारले बनाउने भएको छ । रामेछाप र काभ्रेको सीमाना दोभनटारमा सुनकोसी–२ जलविद्युत आयोजना निर्माणको लागि नेपाल र चीनबीच सहमति हुन लागेको हो । प्रधानमन्त्री केपी ओलीको आजबाट हुने भ्रमणमा सुनकोसी–२ जलविद्युत आयोजना निर्माणको सहमति हुने एजेण्डा समावेश भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
रामेछाप जिल्लाको सुनापती गाउँपालिका–४ बेथानस्थित दोभनटार र काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको सीमाना दोभनटारमा सुनकोसी–२ जलविद्युत आयोजना निर्माणको लागि सर्भेको काम भइरहेको छ ।
इआरएमसी कन्सलटेन्सीका म्यानेजर डाइरेक्टर उद्धवराज चौलागाईले सम्भाव्यता अध्यायनको काम अन्तिम चरणमा पुगेको रामेछाप न्युजलार्ई बताए । उनले सुनकोसी–२ जलविद्युत आयोजना निर्माण गर्नको लागि नेपाल र चीन सरकारबीच सहमति भएको अवस्थामा डिपिआर र निर्माणको काम एक साथ अगाडि बढन सक्ने बताए । हाल सुनकोसी–२ को ड्यामको उचाई १ सय ६० मिटर प्रस्ताव गरिएको छ । तर चौलागाईको अनुसार १० मिटर ड्यामको उचाई बढन सक्छ । यस बारेमा अन्तिम टुंगो त लागिसकेको छैन, तर सम्भावना उचाई बढाउने हुन सक्छ, उनले भने ।


रामेछाप र काभ्रेको सीमाना सुनकोसीस्थित दोभनटारमा ड्याम साइट निर्माण हुने र च्याडीटारमा पावर हावस निर्माण हुनेछ । दोभनटारमा डयाम निर्माण हुँदै सुनकोसी, चौरीखोला र खानीखोला किनाराका बस्ती विस्थापित हुनेछ । करिब ५६५ मेगावाट विद्युत उत्पादन गर्ने यस अघि जाइकाले गरेको अध्यायनले देखाएको थियो । तर सम्भाव्यता अध्यायन गरिरहेको इआरएमसी कन्सलटेन्सीका अनुसार सुनकोसी–२ जलविद्युत आयोजनाको उत्पादन क्षमता बढन सक्छ ।
सुनकोसी–२ जलविद्युत आयोजना निर्माणको कामलाई अगाडि बढाउन सरकारले बजेटमा नै समावेश गरेर उच्च प्राथमिकता दिएको छ । सम्भाव्यता अध्ययनको कामसँगै निर्माणको काम पनि अगाडि बढ्ने आशामा रामेछापवासी उत्साहित भएका छन् । सुनकोसी–२ जलविद्युत आयोजनाको काम अगाडि बढेको अवस्थामा रामेछापका हजारौ व्यक्तिहरुको लागि रोजगारी सृजना हुनेछ ।
त्यसैग्री नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनकोसी–२ जलविद्युत आयोजना अगाडि बढाउन विशेष भूमिका निर्वाह गरिरहेका छन् । सुनकोसी–२ जलविद्युत आयोजनामा पानी जहाज चलाउने गरी डिजाईन हुनेछ ।
सरकारले सुनकोसी–२ सँगै सुनकोसी तेस्रो जलविद्युत आयोजनालाई पनि प्रभामिकतामा राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्