दोरम्बा वडाभित्र भ्रष्टचार हुन दिन्नःवडा अध्यक्ष श्रेष्ठ



६ जेठ, रामेछाप ।
रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले वडाभित्र सञ्चालन हुने विकास निर्माणको काम पारदर्शी रुपमा सम्पन्न हुने बताएका छन् । उनले निर्वाचन अघि नै आफूले प्रतिबद्धता गरे अनुसार नै विकास निर्माणको काम अगाडि बढाएको बताउदै वडाभित्र कुनै पनि अनियमितता हुन नदिने बताएका हुन् । ‘जनप्रतिनिहरुको काम जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने हो’, उनले भने,‘निर्वाचित भएपछि वडाको मुहार फेर्ने कार्यमा हामी लागेका छौं ।’


स्थानीय सरकार गठन भएपछि वडाभित्र सञ्चालिन विकास निर्माणको कामको बारेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले उठाएको प्रश्नको जवाफ दिदै वडा अध्यक्ष श्रेष्ठले आफूले पनि भ्रष्टचार नगर्ने वडाभित्र कसैलाई पनि भ्रष्टचारजन्य गतिविधि गर्न नदिने घोषणा गरे ।


वडा कार्यालयको आयोजना र माने मगर युवा समाजको सहजीकरणमा भएको कार्यक्रममा यस आर्थिक बर्षभित्र वडामा भएका विकास निर्माणको विवरण, वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र भावी योजनाको बारेमा वडा अध्यक्ष श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले दोरम्बा गाउँपालिकाभित्र हुने सबै प्रकारका विकास निर्माणको कामलाई पारदर्शी ढंगले अगाडि बढाउने कार्यमा आफू लागेको बताए । उनले आगामी दिनमा पनि दोरम्बा वडाले पारदर्शी ढंगले कार्य सम्पादन गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्