रामेछाप–काभ्रे जोडने चौरीखोलाको पुल नबनाउने ठेकेदारलाई कालोसूचीमा राख्न पत्राचार



६ असार,रामेछाप ।
तोकिएकै समयसीमाभित्र काम नगर्ने ठेकेदारहरुको परम्परा नै हो । ठेक्का लिने र म्याद थप्दै बर्षौसम्म लम्ब्याउने ठेकेदारको धन्दा नै हो । हरेक बर्षको बर्षा सुरु भएपछि काम गरेकोजस्तो देखाउने र पुनः बर्षाको कारण काम गर्न सकिएन भनेर बहानाबाजी गर्ने ठेकेदारहरुले म्याद थप्दै बर्षौसम्म काम लम्ब्याउदै आएका धेरै उदाहरण छ ।

तिनै उदाहरण मध्यको एक हो चौराखोलाको निर्माणाधिन पक्की पुल । पटक–पटक पत्राचार गर्दा पनि समयमा नै पुल निर्माण नगरेको भन्दै सडक विभाग अन्तर्गतको डिभिजन सडक कार्यालय खुर्कोटले ठेक्का तोडने पत्र काटेको छ । रामेछाप–काभ्रे जोडने पक्की पुल निर्माणको ठेक्का पाएका ठेकेदार मुकुन्द गौतमसँग ठेक्का तोडनको लागि पत्राचार भएको छ । सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनले लामो समय वितिसक्दा समेत पुल निर्माण कार्य सम्पन्न नगरेकाले निर्माण कम्पनीलाई कालोसूचीमा राख्न र ठेक्का तोडनको लागि प्रक्रिया अगाडि बढाएको रामेछाप न्युजलाई बताए ।

ठेकेदारको लापर्वाहीको कारण सात बर्षअघि निर्माण कार्य सुरु भएको रामेछाप–काभ्रे जोडने पक्की पुल निर्माण कार्यमा ढिलासुस्ती हुँदा रामेछापवासीले सास्ती बेर्होनु परेको छ । पुल नहुँदा रामेछापको दोरम्बा र सुनापति गाउँपालिका बासिन्दाले बढी सास्ती खेप्दै आएका छन् । हिउदको समयमा चौरीखोलाबाट सवारी साधन आवतजावत गर्ने भएपनि बर्षाको समयमा पनि घण्टौ हिडन दोरम्बा गाउँपालिका बासिन्दा बाँध्य भएका छन् ।
दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अम्बिका प्रसाद गुजुरेलेले ठेकेदारको लापर्वाहीको कारण दोरम्बा गाउँपालिका बासिन्दाले सास्ती खेप्नु परेको बताए । पन्ध्र बर्ष अघि नै पुल निर्माण भएको स्थानबाट हिउदको समयमा काठमाडौंबाट दोरम्बा गाउँपालिकाको गुरासेसम्म बस चल्दै आएको छ । चौरीखोलाको पुल सञ्चालन हुने हो भने दोरम्बा गाउँपालिका हुँदै सिधै रामेछापको सदरमुकाम मन्थली आवतजावत गर्न पनि गाउँपालिका बासिन्दालाई सहज हुनेछ ।


दोरम्बा गाउँपालिकादेखि सदरमुकाम जोडने खानीखोलामा पक्की पुल निर्माण भएपनि छ बर्ष अघि निर्माण कार्य थालिएको चौरीखोलाको पुल भने अझै कहिले बन्ने भन्ने निश्चित भएको छैन् । गाउँपालिका बासिन्दा नागरिता, पासपोर्ट र जग्गाको रजिष्ट्रेसन पास गर्न बाहेक सबै काम काठमाडौंसँग जोडिएको छ, तर पुल निर्माण नहुँदा ठूलो सास्ती खेप्नु परेको छ, वडा अध्यक्ष गजुरेलले भने ।

पुल निर्माणको जिम्मेवारी पाएका एनएन निर्माण सेवाका सञ्चालक मुकुन्द गौतमले पुल निर्माणमा ढिलाई भएको स्वीकार गर्दै पुल निर्माणको गर्न ढलानको काम हुन लागेको बताए । उनले बर्षा लागेपछि खोलाको बीचमा ढलान गर्नको लागि स्ल्याप विछ्याएको रामेछाप न्युजलाई बताए । तीन वटा पिलर निर्माणको काम सम्पन्न गरेर बर्षाको समयमा उनले ढलानको काम अगाडि बढाएका छन् । बर्षाको कारण जति बेला पनि पुलको ढलान बगाएर लैजाने अवस्था रहेको छ ।


चौरीखोलको पुल निर्माणको क्रममा ठेक्का आह्वान गर्दा सर्वोद्धार÷फेन्स÷एनएन जेभीले पुल निर्माणको स्टामेट भन्दा दुई गुण कम रकममा ठेक्का हालेको थियो । घटाघटमा सोही जेभीले कम्पनीले नै पुलको ठेक्का पाएको थियो । जेभीले तीन करोडको स्टामेट भएपनि १ करोड ९० लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माणको जिम्मेवारी लिएका ठेकेदार गौतमले १ करोड ९० लाख बिलोमा ठेक्का हाल्दा समस्या परेको बताउदै पुल निर्माणमा ढिलाई गर्दै आएका छन् । ६१ मिटर लम्बाई रहेको सो पुल सञ्चालनमा आउदा रामेछापवासीलाई राहत हुने स्थानीयले बताएका छन् । तर बर्षाको समयमा पुल निर्माणको काम अगाडि नबढाउन डिभिजन सडक कार्यालय खुर्कोटले ठेकेदार गौतमलाई पत्र काटेको छ । ढलान गरेको २८ दिनसम्म फर्मा निकाल्न नहुने प्रावधान रहेको छ । तर गौतमले मध्ये बर्षाको समयमा पुलको बीचको भागमा ढलान गर्ने कार्यलाई अगाडि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्