अबको सात वर्षभित्र चीनबाट अाउने भाे नेपालमा रेल 



६ असार, काठमाडाैं ।  चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ ।

चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आज सम्पन्न दुई नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको यो भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण खुड्किलो सावित भएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले भन्नुभयो, “यो भ्रमणको मुख्य उद्देश्य मित्रतालाई सुदृढ गर्ने थियो । दुई देशबीचको सहयोगका क्षेत्र पहिल्याउने विषयमा पनि विचारविमर्श भयो । चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सन् २०१६ को चीन भ्रमणका बेला भएका समझदारीको सुखद स्मरण गर्दै नेपालले यसबीचमा प्राप्त गरेको उपलब्धि र सक्षम नेतृत्वका लागि बधाई दिनुभएको थियोे ।”
अन्तरदेशीय रेलमार्गलाई नेपालले विशेष प्राथमिकतामा राखको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले अबको सात वर्षमा नेपाल र चीन रेलमार्गले जोडिने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति सीसँगको भेटवार्तापछि मन्त्री ज्ञवालीले भन्नुभयो, “छिट्टै रेलमार्ग नेपाल पुग्दैछ । त्यसको अध्ययनका लागि दुवैतर्फ निर्देशन हुन्छ ।”

उहाँले पूर्व सम्भाव्यता अध्ययन नेपाली प्रविधिज्ञसहितको टोलीले अगष्टसम्म सकिने र डिपिआर शुरु हुने विश्वास व्यक्त गर्दै नेपालको अर्थतन्त्रका लागि बहुआयामिक महत्वको रेलमार्ग विस्तारमा नेपालले पनि लगानी गर्ने बताउनुभयो ।

“चीनको रेल काठमाडौँ पुग्नेछ, यसले नेपालको विकासमा ठूलो सहयोग पुग्नेछ,” चिनिया राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो – “राष्ट्रपति सीले नेपालको चाहनालाई ‘इन्डोर्स’ गर्नुभएको छ ।”  चिनिया पक्षबाट तातोपानी नाका छिट्टै खोल्ने आश्वासन प्राप्त भएको र नेपालको पूर्वाधार विकासको चाहनालाई पूर्णरुपमा साथ दिने वचनबद्धता पनि आएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गर्न दिनुभएको निम्तोको प्रत्युत्तरमा चिनिया राष्ट्रपति सीले ‘म अवश्य नेपाल आउँछु’ भन्नुभएको जानकारी मन्त्री ज्ञवालीले दिनुभयो । प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिँदै नेपाली जनता राष्ट्रपति सीलाई स्वागत गर्न चाहन्छन् भन्नुभएको थियो ।

“नेपाल भ्रमणका लागि यो उपयुक्त अवसर हो,” चिनिया राष्ट्रपतिलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो । आपसी कूटनीतिक माध्यमबाट दुवै पक्षलाई अनुकूल हुने मिति तय गरेर चिनिया नेताको नेपालको भ्रमणको तयारी अगाडि बढाउने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्