प्रदेश ३ को राजधानी काभ्रे हुने सम्भावना बढयो



२७ असार, हेटाैडा ।

प्रदेश–३ को स्थायी राजधानीका विषयमा अध्ययन गर्न बनेको समितिले मंगलबार प्रदेशसभामा प्रतिवेदन बुझाएको छ ।

समितिले भौगोलिक अवस्था, पूर्वाधार, बाटोको पहुँच, केन्द्रविन्दु लगायत मापदण्डका आधारमा काभ्रेलाई पहिलो नम्बरमा, चितवनलाई दोस्रो नम्बरमा, नुवाकोटलाई तेस्रो, भक्तपुरलाई चौथो र हाल अस्थायी मुकाम रहेको हेटौंडालाई ५ औं नम्बरमा राखेको बुझिएको छ । विभिन्न मापदण्डका आधारमा अंक दिएर प्राथमिकताक्रम तोकिएको हो ।

समिति सभापति दीपक निरौलाले सभामुखलाई प्रतिवेदन बुझाउनुभएको हो । १२ जिल्लाबाट आएका सुझावका आधारमा जिल्ला तोकेर राजधानीका विषयमा आफूहरुले प्रतिवेदनमा उल्लेख गरेको भन्दै निरौलाले समितिलाई जे सुझाव आएका थिए, त्यसका आधारमा प्रतिवेदन तयार गरिएको बताउनुभयो ।

समितिले सांसद् विशाल खड्काको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति निर्माण गरेको थियो । प्रतिवेदनले प्रदेशको चासोका रुपमा रहेको प्रदेश राजधानीको विषयलाई एक उचाईं दिनेछ भने साउन पहिलो हप्ता हुने प्रदेशसभा बैठकले राजधानी र नामाकरणलाई अन्तिम टुंगो लगाउने जनाइएको छ ।

प्रदेशसभाका केही सांसद्ले राजधानीका लागि हेटौंडासहित काभ्रे, नुवाकोट, चितवन तथा भक्तपुर माग गरेपछि प्रदेशसभाले यस विषयलाई सहजढंगबाट टुंगो लगाउन समिति निर्माण गरेको थियो ।

२ महिना अवधिमा गरिएको स्थलगत अध्ययन, प्रश्नावलीका आधारमा समितिले प्रतिवेदन तयार गरेको हो । समितिले जेठ २८ देखि ३० गतेसम्म चितवन, काभ्रे, भक्तपुर, नुवाकोट र हेटौंडाको स्थलगत अध्ययन गरेको थियो ।

काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको वस्तुगत स्थिति झल्कने गरी पठाएको १ सय २३ प्रश्नसहित प्रश्नावली समितिले अध्ययन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्