सुनापती गाउँपालिकाको विकास निर्माण चित्त बुझ्दो छैनः जिसस प्रमुख खडका



२८ असार, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिकाभित्र सञ्चालित विकास निर्माणको कामप्रति नागरिकहरुले प्रश्न उठाउन थालेका छन् । गाउँपालिकाले सडकको निर्माणमा छुटयाए पनि सडकको अवस्थामा खासै सुधार आउन नसकेको भन्दै गाउँपालिकाका अध्यक्ष धावा लामा कामलाई भन्दा पनि भाषणलाई प्राथमिकता दिएको भन्दै गाउँपालिकावासीले असन्तुष्टि जनाएका हुन् । स्थानीय तहमा जनप्रतिनिधिहरु आएको एक बर्ष वितिसक्दा समेत नागरिकहरुले महशुस गर्न सक्ने गरी गाउँपालिकाले काम गर्न नसकेको भन्दै कार्यशैलीमाथि नै प्रश्न गर्न थालेका हुन् ।
गाउँपालिकाका अध्यक्ष लामाले जनप्रतिनिधिहरुसँग पर्याप्त परामर्श र समन्वय नगर्दा काम गर्न नसकेको आरोप वडा अध्यक्षहरुले लगाएका छन् । जिल्ला समन्वय समिति रामेछापले सुनापती गाउँपालिकामा गरेको अनुगमनको क्रममा पनि असन्तुष्टि जनाएको छ । विगतमा नै ट्रयाक खुलिसकेको सडकमा मर्मत र स्तरउन्नतीको नाममा लाखौ रुपैयाँ खर्चिए पनि सडकको अवस्थामा खासै सुधार गर्न नसकेको बताइएको छ । गाउँपालिकाको केन्द्र हिलेदेवीबाट वडा नम्बर १ गुन्सी जाने खानीखोलासम्मको सडकको अवस्थामा सुधार आउन सकेको छैन् । विगतमा हचुवाकै शैलीमा निर्माण गरिएको सडकमा यातायात सञ्चालन गर्न निकै कठिन मानिन्छ । गाउँपालिकाको केन्द्र आवत जावत गर्ने सडकको स्तरउन्ती र मर्मत सम्भार हुन सकेको छैन् ।
अध्यक्ष लामासँग वडा अध्यक्षहरु नै रुष्ट
गाउँपालिकाका अध्यक्ष धावा लामासँग पाँच वटै वडा अध्यक्षहरु असन्तुष्ट रहदै आएका छन् । नीति निर्माण तहमा पर्याप्त छलफल नगरेको, गाउँपालिकाबाट सञ्चालन गर्ने कार्यक्रममा समन्वय नभएको भन्दै सुरुबाटै असन्तुष्टि जनाउदै आएका छन् । तर पनि अध्यक्ष लामाको कार्यशैलीमा परिवर्तन नआएको गुनासो वडा अध्यक्षहरुले गर्दै आएका छन् । एक वडा अध्यक्षले भने,‘बिड मात्र तातेर नहुदो रहेछ, भाडाे नै ताल्तु पर्ने हो, तर हाम्रो अध्यक्ष हुँदैन केही भन्नुहुन्न, तर काम पनि गर्नुहुन्न ।’ अध्यक्ष लामाले वडा अध्यक्षहरुसँग पर्याप्त छलफल नै नगरी निर्णय गर्दा जनस्तरबाट असन्तुष्टि चुलिएको छ । गाउँपालिकाबाट सम्पादन हुने काम प्रभावकारी नभएको आवाज उठे पनि अध्यक्ष लामाले भने खासै चासो नदिएको ती वडा अध्यक्षले बताए । वडा अध्यक्षहरुले जनप्रतिनिधिहरुसँग परामर्श गर्नुको सट्टा प्रमुख प्रशासकीय अधिकृत र लेखापालसँग मात्र मिलेर काम गरेको आरोप अध्यक्ष लामामाथि वडा अध्यक्षहरुले लगाएका छन् । ती वडा अध्यक्षले रामेछाप न्युजसँग भने,‘गाउँपालिकामा कति बजेट खर्च भयो, कति बाँकी छ भनेर जान्न खोज्दा पनि हिसाब किताब नदेखाउने गरेको छ ।’
जनप्रतिनिधिसँग प्रशासकीय अधिकृतको घुर्की
गाउँपालिकाभित्र सुशासन र पारदर्शीता हुनु पर्ने माग वडा अध्यक्षहरुले राख्दै आएका छन् । तर विकास निर्माणमा खर्च हुने रकमको बारेमा वडा अध्यक्षहरुले प्रश्न गर्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले आफू सरुवा भएर जाने घुर्की लगाउने बताइएको छ ।सुनापती गाउँपालिका–५ का वडा अध्यक्ष ठूलोकान्छा तामाङले गाउँपालिकालाई थप समृद्ध बनाएर लैजाने विषयमा छलफल गर्दा प्रशासकीय अधिकृतले यहाँ आफूले काम गर्न नसक्ने वरु सरुवा भएर जाने गरेको गुनासो गरे । सुनापती गाउँपालिकाका लेखापाल बमबहादुर बिकको सरुवा भएपनि हाल उनी काजको रुपमा काम गर्दै आएका छन् । उनको नापी कार्यालय रामेछापमा यस अघि नै सरुवा भइसकेको छ । सरुवा भएर पनि सुनापती गाउँपालिकामा बस्नुलाई जनप्रतिनिधिहरुले नै शकांको रुपमा लिएका छन् ।


खरिद समितिमा भद्रगोल
गाउँपालिकालाई आवश्यक सामाग्री खरिद गर्नको लागि गाउँपालिकाले खरिद समिति पनि बनाएको छ । यस बीचमा गाउँपालिकाले गाडी, मोटरसाइकल, कम्प्युटर, ल्यापटप, फर्निचर लगायतका धेरै बस्तुको खरिद गरेको छ । तर खरिद समितिमा रहेका जनप्रतिनिधिहरु भने बेखबरजस्तै देखिएका छन् । खरिद समितिमा रहेका एक वडा अध्यक्षले रामेछाप न्युजसँग भने,‘के–के सामाग्री खरिद भए, त्यसको बारेमा समितिमा छलफल भएको छैन, समितिमा छलफल गरेर मात्र खरिद गर्नुपर्ने हो, तर गाउँपालिकामा खरिद समितिको निर्णय भन्दै सामान खरिद गरेर ल्याउपछि मात्र माइन्युटमा हस्ताक्षर गर्न लगाइन्छ ।’ गाउँपालिका स्थापना हुँदाको बखत फर्निचर लगायतको सामाग्री खरिद गर्दा पनि व्यापक रुपमा दुरुपयोग भएको विषयमा अहिले पनि गाउँपालिकाभित्र चर्चाको विषय छ । तर अहिले पनि विगतको परम्परालाई नै निरन्तरता दिएर नै कागजी रुपमा बिल भपाई मिलाएर सामान खरिद गरेको ती सदस्यले बताए । खरिद समितिमा भद्रगोल भएपनि गाउँपालिका अध्यक्ष लामाले चासो नदिएको बताइएको छ । जसको फाइदा कर्मचारी प्रशासनले लिएको हुन सक्ने आरोप वडा अध्यक्षहरुले लगाएका छन् ।
सुनापती गाउँपालिकामा विकास निर्माणको काम चित्त बुझ्दो छैनः खडका
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खडकाले सुनापती गाउँपालिकाभित्र सञ्चालिन विकास निर्माणको काम खासै चित्त बुझ्दो नभएको बताएका छन् । उनले रामेछाप न्युजसँग भने,‘सडकको अवस्था खासै सुधार भएको पाइएन,  तर उहाँहरुले काम राम्रो भएको र बर्षाको कारणले पनि सडक बगाएको बताएका छन, आगामी दिनमा सुधार होला ।’ आफूहरुले विकास निर्माणको कामको अनुगमन गरेको बताउदै अध्यक्ष खड्काले आगामी दिनमा रामेछाप जिल्लाको आठ वटै स्थानीय तहमा हुने विकास निर्माणको कामको अनुगमनलाई प्रभावकारी बनाउने विषयमा गृहकार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्