धार्मिक पर्यटनको केन्द्र बन्दै सिन्धुलीकाे कुशेश्वर महादेव (फोटोफिचर)



१ साउन, सिन्धुली ।
हिमवत्खण्डमा वर्णित ६४ शिवलिङ्गमध्ये सबैभन्दा पहिला उत्पत्ती भएको कुशेश्वर महादेव हो भन्ने उल्लेख छ। त्यसैले कुशेश्वर महादेवलाइ आदिलिङ्ग भनिन्छ । धार्मिक यात्रामा निस्कदा सबैभन्दा पहिला दर्शन गर्नुपर्ने महादेव अर्थात् शिवलिङ्गका रूपमा आदिलिङ्ग कुशेश्वर महादेवलाइ लिइन्छ ।

पुलचोकीडाँडाबाट पनौतिहुँदै पूर्व उत्तर बग्ने रोशीखोलाको दोभान र सुनकोशी नदीको किनारमा आदिलिङ्ग कुशेश्वर महादेवको मन्दिर रहेको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर १ स्थित कुशेश्वर दुम्जामा रहेको यो मन्दिर पुग्न राजधानी काठमाडौँबाट बीपी मार्गहुँदै ८३ किलोमिटर यात्रा गर्नुपर्छ । बीपी मार्गहुँदै सर्लाही, सिन्धुली, रामेछाप, ओखलढुङ्गालगायत पूर्वतिर जाने बस, मिनीबस, बोलेरो, हायस, माइक्रोवस मार्फत कुशेश्वर महादेव पुग्न सकिन्छ । जनकपुर, बर्दिबासबाट पनि यो मन्दिरमा सहजै आउन सकिन्छ । साउनको सोमबारसमेत सो मन्दिरमा भब्य मेला लाग्दै आएको छ ।

आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर नजिकै दुर्गा तीर्थ रहेको छ । उमामहेश्वर, बटुक भैरवलगायत मन्दिरसमेत कुशेश्वर परिसरमा रहेका छन् । नजिकैको बजार गजुलीदहमा टौदहको नाग र गजुलीदहको नागबीचको किम्बदन्ती जोडिएको पेटारे ढुङ्गासमेत रहेको छ । बाढीले पुरिएको अवस्थामा रहेको पेटारे ढुङ्गालाइ उत्खनन् समेत गरिएको छ ।


मन्दिरमा संस्कृत पाठशाला समेत सञ्चालनमा रहेको छ । एक दिन बस्नेगरी दुम्जा जाने हो भने झाँगाझोलीमा रहेको प्रतापेश्वर महादेव, राघाकृष्ण मन्दिर, रातमाटाको गणेशस्थान, मूल्कोटमा रहेको बाल्मिकेश्वर महादेव र मुकुटेश्वरी देवीको मन्दिरसमेत दर्शन गर्न सकिन्छ । पूर्वको सानो नेपालको रूपमा परिचित झाँगाझोली बजारको सौन्दर्यसमेत लिन सकिन्छ ।
भ्रमणलाइ अझ रोमाञ्चक र फलदायी बनाउने हो भने कुशेश्वर दुम्जाको भ्रमण गरी २००८ सालमा स्थापित कुशेश्वर विद्यापीठको अवलोकन, रमणीय अड्चले र दुम्जा गाउँको पैदल यात्रा गर्न सकिन्छ । जहाँ, नेपालका चार प्रधानमन्त्रीको पुर्ख्यौली घर रहेको छ । मातृकाप्रसाद कोइराल, विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइराला दुम्जामा नै जन्मनुभएको थियो । त्यति मात्र होइन, सुशील कोइरालाको पुर्ख्यौली घर समेत दुम्जामा नै छ ।


जागरणकवि धरणीधर कोइराला, कवि मोहन कोइराला, उपन्यासकार शंकर कोइराला, शिक्षासेवी दीर्घराज कोइराला, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, पूर्व मन्त्री तथा नेवि सङ्घका संस्थापक अध्यक्ष विपिन कोइरालालगायत थुप्रै राष्ट्रिय विकासमा योगदान दिने व्यक्तित्व दुम्जाको भूमिले जन्माएको छ । जसको सूचि लामै छ, जुन यहाँ उल्लेख गर्दा लामै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्