शहीद स्मृतिको विषयलाई लिएर नेकपा रामेछापमा खैलाबैला, कसले के भने ?



२ साउन, रामेछाप । तत्कालिन माओवादीले गरेको जनयुद्धमा ज्यान गुमाएका सहिदको सम्मान तथा श्रद्धाञ्जलीमा समेत विभेद गरिएको भन्दै रामेछाप जिल्लाका पूर्व माओवादी केन्द्रमा विवाद र खैलाबैला सुरु भएको छ । एकै घटनामा शहादत प्राप्त व्यक्तिको नाम समेत नलिएको भन्दै नेता र कार्यकर्ताहरु दुई भागमा विभाजित भएर सामाजिक सञ्जालमा जुहारी नै चलेको छ ।

पूर्व माओवादी नेता तथा नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईंले आफ्नो भाई विष्णु चौलागाईं ‘अभय’को सम्मानमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा सोही घटनामा मृत्यु भएका अर्का सहिदको भने नाम समेत नलिएको भन्दै सामाजिक सञ्जालमा बहस र विवाद उत्कर्षमा पुगेको हाे ।

 

गत असार ३१ गते नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा विष्णुको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अथितिको रुपमा रहेका थिए ।
सुनापति काठमाडौं संघिय जनसम्पर्क मञ्चको आयोजनामा नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष  प्रचण्डको प्रमुख आतिथ्यतामा विष्णु प्रसाद चौलागाईं अभय स्मिृति दिवस मनाइएको थियो । अध्यक्ष कमरेडलाई समेत आयोजकले भ्रममा पारी शैलुङ घटनामा कमरेड अभयसँगै, एकै घटनामा एकैसमयमा, एकै जिल्लामा र एकै स्थानमा शहिद भएका खिल नारायण श्रेष्ठ कमरेड उन्नतको नाम लिन समेत जानकारी अध्यक्षलाई दिएन,पूर्व सांसद तथा माओवादी केन्द्रका पूर्व सांसद तारालाल श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।


माओवादी कार्यकर्ताका अनुसार १५ वर्षअघि २०६१ असार ३१ गते रामेछापको शैलुङको चौरीगोठमा विष्णु चौलागाई र खिलनारायण श्रेष्ठको नेपाली सेनाले हत्या गरेको थियो ।एकै समय भएको हत्यामा श्रेष्ठको नाम समेत नलिएको भन्दै जिल्लाका नेता कार्यकर्ता आयोजकसँग रुष्ट भएका छन् । पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका नेताहरु, अग्नि सापकोटा, हरिबोल गजुरेल, माधव ढुङ्गेल लगायत सहभागी थिए ।
नेता तथा कार्यकर्ताहरु एक अर्काको बचाउको पक्षमा खरो रुपमा उत्रिएका छन् । स्मृति दिवसमा एउटै घटनामा मारिएका शहीदको नाम नलिनु, उनको फोटो आयोजकले नराख्नु शहीदप्रतिकै अपमान भएको रुपमा अथ्याई रहेका छन् भने स्मृति सभा आयोजना गर्ने पक्षले भने शहीदलाई सम्झिने विषयमा यति धेरै विवाद गर्नुको अर्थ नभएको बताएको छ । यसैबीच स्मृति दिवसको दिन शहीदलाई नै पावर पहुँचको आधारमा विभाजित गर्न खोजिएको भन्दै यस बारेमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै भेटेर असन्तुट नेताहरुले ध्यानाकर्षण गराउने तयारी गरेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्