रामेछापमा करेन्ट लाग्ने क्रम बढेपछि जनप्रतिनिधिले उर्जा मन्त्रीलाई बुझाए ज्ञापनपत्र



४ साउन, काठमाडौं ।
रामेछापका दोरम्बा र सुनापती गाउँपालिका अन्तर्गत सामुदायिक विद्युतीकरण मार्फत जडान गरिएको लाइनबाट करेन्ट लागेर मानविय क्षति हुने क्रम बढेपछि रामेछापका जनप्रतिनिधिहरुले उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनलाई ज्ञापनपत्र बुझाएका छन् ।
पूर्व गृहराज्यमन्त्री समेत रहेका रामेछापका प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठ ‘कुशल’को नेतृत्वमा शुक्रवार गएको जनप्रतिनिधिको टोलीले समुदायलाई हटाएर राष्ट्रिय प्रशारण लाइनको विद्युत जोडनु पर्ने माग गरेका छन् । ज्ञापन पत्र बुझाउदै सांसद श्रेष्ठले एक बर्षको अवधिमा चार जनाको ज्यान गएको स्मरण गराउदै उर्जा मन्त्री पुनलाई केन्द्रीय प्रशारण लाइन जडान गरेर नागरिकहरुको ज्यान बचाउनु पर्ने माग गरे ।


जवाफमा उर्जा मन्त्री पुनले समुहले केन्द्रीय प्रशारण लाइनको विद्युत जोडनको लागि प्रक्रिया पूरा गरे तत्काल काम अगाडि बढाउने बताए । उनले नागरिकको जिउ धनको रक्षा गर्नको लागि सुरक्षित तबरले मात्र विद्युतीकरण गर्नुपर्नेमा जोड दिदै आफूले जोखिम भएको क्षेत्रमा जोखिम हटाउने गरी काम गर्न प्रतिबद्ध रहेको बताए ।
सो अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामुदायिक मार्फत विद्युतीकरण भएको क्षेत्रमा जोखिमपूर्ण काठको पोल हटाएर स्टिलको पोल पठाइ सकेको बताए । उनले भने,‘लामो दुरीको कारण पनि प्राविधिक समस्याहरु बारम्बार दोहोरी रहन्छ, अब दिर्घकालिन रुपमा नै समस्याको समाधान गर्नको लागि जोखिम न्युनिकरण गर्नको लागि प्राधिकरणले काम अगाडि बढाइरहेको छ ।’


दोरम्बा गाउँपालिकाको वडा नम्बर ५ र ६, सुनापती गाउँपालिकाको वडा नम्बर १ मा किसान जागरण समुह मार्फत जडान भएको विद्युत उपभोक्ताहरुले उपभोग गरिरहेका छन् । २०६६ सालदेखि सामुदायिक विद्युतीकरणको काम सुरु भएपनि २०७० सालमा सम्पन्न भएको थियो । विद्युतीकरणको काम अव्यवस्थित, गुणस्तरहिन सामान र स्थानीय काठको पोलहरु समेत प्रयोग भएका कारण तीन वडा वडामा अनियन्त्रित विद्युत लाइन प्रवाह भई थुप्रै उपभोक्ताहरुले ज्यान गुमाइसकेका छन् । करेन्टकै कारण थुप्रै अंगभग समेत भएका छन् । समुहकै कमजोरीको कारण दर्जनौ चौपाया र केही घरहरुमा क्षति पुगेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी दिनमा मानविय क्षतिको घटना नहोस भनेर ज्ञापन पत्र बुझाएको बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले नागरिकहरुले अकालमा नै ज्यान गुमाउने क्रम बढेपछि उर्जा मन्त्रीलाई समस्या समाधानको पहल गरिदिन ज्ञापन पत्र बुझाएको जानकारी दिए । स्थानीय तहका जनप्रतिनिधिहरुले सामुदायिक विद्युतीकरण किसान जागरण समुहलाई विद्युत प्राधिकरणको मातहत ल्याई केन्द्रीय प्रशासण लाइनबाट विद्युत विस्तार गराई जनताहरुलाई सुरक्षित तवरले विद्युत प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गराई दिन पनि उर्जा मन्त्री समक्ष माग गरेका छन् । किसान जागरण समुहको लापर्वाहीको कारण एक बर्षको अवधिमा मात्र दोरम्बा र सुनापती गाउँपालिकामा चार जनाको करेन्ट लागेर ज्यान गइसकेको छ ।
ज्ञापनपत्र बुझाउन नेकपाका केन्द्रीय सदस्य कमल चौलागाई, पूर्व सभासदद्धय तारानारायण श्रेष्ठ र डिल्लीमान तामाङ, सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, दोरम्बा गाउँपालिका–६ का वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेल, सुनापती गाउँपालिका १ का वडा अध्यक्ष चण्डेश्वर चौलागाई लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्