माथिल्लो तामाकोशी आयोजनाको शेयर काठमाडौँबाटै भर्न पाइने



११ साउन, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको सो आयोजनामा धेरैभन्दा धेरै नागरिकको सहभागिता गराउने लक्ष्यका साथ सरोकार भएका सबै पक्षसँग सहमतिसमेत जुटाएको छ ।

नेपाल धितोपत्र बोर्ड, आयोजना, आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकार भएका व्यक्तिको उपस्थितिमा बिहीबार भएको छलफलमा दोलखावासी सबैलाई न्यूनतम शेयर उपलब्ध गराइनेछ ।

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार काठमाडौँ उपत्यकाभित्रैबाट पनि शेयर आवेदन दिन पाउने गरी व्यवस्था गरिएको छ । स्थानीयवासीले साधारण शेयर आवेदन दर्ता जिल्ला जानै पर्ने बाध्यताको समेत अन्त्य भएको छ ।
आयोजनाले स्थानीय तह बन्नुभन्दा पहिल्यै गरिएको निर्णयका आधारमा शेयरमा आवेदन गर्दा अति प्रभावित, कम प्रभावित र प्रभावित गरी तीन श्रेणीमा विभाजन गरेको थियो । स्थानीयवासीले तह निर्धारण वैज्ञानिक नभएको भनी गुनासो गर्दै आएका थिए । सरोकार भएका निकायबीचको छलफलका आधारमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने अन्य आयोजनामा शेयरको विषयमा थप लचिलो बन्ने र कम शेयर पाउने नागरिकलाई सम्बोधन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्