दुवै हात गुमाएर पनि सगरमाथा चढेका सुदर्शन गौतम मानव तस्करीमा



१२ साउन, काठमाडौं ।
रामेछाप जिल्ला सुनापती गाउँपालिका–१ गुन्सीमा जन्मिएर दुवै हात गुमाएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका सुदर्शन गौतम मानव तस्करीमा लागेको खुलासा भएको छ । नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइके कलाकार सुदर्शन गौतम रहेको प्रहरी अनुसन्धानमा खुलेको हो । क्यानाडामा रहेका गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई पत्राचार समेत गरिएको छ । तीन युवतीलाई अमेरिका लैजाने भन्दै हाइटी र्पुयाएर उनले अलपत्र बनाएको र त्यसमध्ये एक युवतीको समुद्रमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यहाँबाट फर्किएका युवतीको उजुरीका आधारमा प्रहरीले गौतमविरुद्ध मुद्दा दायर गरेको हो ।

महानगरीय अपराध महाशाखाले गौतमको मानव तस्करी गिरोहमा आबद्ध बाग्लुङका सागर श्रीषसहित ४ जनालाई गत महिना पक्राउ गरेको थियो। उनीहरु चारै जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। गौतमलाई फरार अभियुक्त बनाई मुद्दा दायर गरिएको छ। जिल्ला अदालतले गौतमको नाममा वारेन्ट जारी गरिसकेको छ। सोही आधारमा प्रहरीले उनीविरुद्ध रेडकर्नर नोटिस समेत जारी गर्ने तयारी गरेको स्रोत बताउँछ।


केही वर्षअघि सगरमाथा चढेपछि गौतम चर्चामा आएका थिए। दुवै हात नभएका व्यक्तिले सगरमाथा चढेको भन्दै उनको प्रशंसा भएको थियो। त्यसपछि उनले ‘हिम्मतवाली’ नामक फिल्ममा समेत अभिनय गरेका थिए। सो फिल्मबाट उनको थप चर्चा भएको थियो । रामेछापकाका गौतम क्यानाडाका नागरिक भइसकेका छन्। उनी त्यहाँ रेस्टुरेन्ट लगायत विभिन्न व्यवसाय गर्दै आएका छन् ।
प्रहरीका अनुसार यो घटना करिब एक वर्ष अगाडिको घटना हो। तर, प्रहरीले करिब डेढ महिनाअघि मात्र थाहा पाएर पीडितलाई सम्पर्क गरी अनुसन्धान अघि बढाएको हो । उनीहरुकै उजुरीका आधारमा श्रीषसहित ४ जना पक्राउ परेका हुन्। अनुसन्धानकै क्रममा सुदर्शन गौतमको समेत संलग्नता देखिएपछि मुद्दा दायर गरिएको अपराध महाशाखाका डिएसपी मनोहर भट्टले जानकारी दिए । उनका अनुसार गौतमले कतिपय व्यक्तिलाई त्यसरी अमेरिका र क्यानाडामा मानव तस्करी गरेको र कतिपयलाई ठगी गरेको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्