रामेछाप सांस्कृतिक कलाकार समाजकी उपाध्यक्ष सिता थापामाथि छुरा प्रहार



१७ साउन, ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को कर्मचारी अन्जु मगरले लोक गायिका सीता थापामाथि धारिलो हतियार प्रहार गरेकी छिन् । ललितपुरको धोबिघाट निवासी गायिका थापालाई शनिबार बिहान करिब ७  बजे नार्कका कर्मचारी रहेकी उनकै जेठानी अन्जु मगरले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएकी हन् ।
रामेछाप सांस्कृतक कलाकार समाजकी उपाध्यक्ष समेत रहेकी घाइते गायिका थापाले स्वास्थ्यअवस्था बुझ्न अस्पताल पुगेको सञ्चारकर्मीसँग आफू किचनमा खाना बनाउँदै गरेको बेला जेठानीले पछाडिबाट धारिलो हतियारले प्रहार गरेको बताइन् ।
घटनालाई घरायसी मामिला भन्दै सञ्चार माध्यमबाट टाढै रहन खोजेकी घाइते थापाले भनिन्, ‘सञ्चारमाध्यमबाट टाढा रहन खोजेकी थिएँ तर उल्टै मलाई घटना भएको दिनदेखि अनावश्यक रुपमा मानसिक दबाब दिने कार्य भयो र मैले मुख खोल्न बाध्य भएकी छु ।’ घाइते गायिका थापाको ललितपुरको पुल्चोकस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । लोकगायिका थापाले मंगलबार (घटना भएको तीन दिनपछि) मात्रै आफूलाई धारिलो हतियार प्रहार गर्ने जेठानीविरुद्ध कार्वाहीको माग गर्दै महानगरीय प्रहरी परिसर, जावलाखेल, ललितपुरमा उजुरी दर्ता गराएकी छन् । अल्का अस्पतालले उनको स्वस्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएको छ ।
घाइते थापाको जेठानी अन्जुले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफूलाई नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को वैज्ञानिक  भनी उल्लेख गरेकी छन् । घाइते गायिका थापा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल’की संस्थापक कोषाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्