रामेछापमा नेकपाको जिल्ला कमिटी १३५ सदस्यीय बन्ने, को–को पर्लान ?



२० साउन, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापको जिल्ला कमिटी १३५ सदस्यीय बन्ने भएको छ । पार्टीका अन्तरिम विधान अनुसार एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला रामेछापमा १३५ सदस्यीय जिल्ला कमिटी बन्ने भएको हो ।
आगामी भदौ ५ गतेभित्र नै जिल्ला कमिटीलाइ पूर्णता दिने केन्द्रको नीति अनुसार रामेछापमा पनि जिल्ला कमिटीमा समावेश गर्ने सदस्यहरुको बारेमा छलफल सुरु भएको छ । पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रको बीचमा जिल्ला कमिटी सदस्यको बारेमा गृहकार्य अगाडि बढेको छ ।


जिल्ला कमिटीमा पर्नको लागि जिल्लाका नेताहरुले दौडधुप बढाएका छन् । पूर्व एमाले र माओवादी केन्द्रको बीचमा सदस्य संख्याको बाँडाफाँडको बारेमा गृहकार्य सुरु भएको छ । जिल्ला कमिटीमा समावेश हुने सदस्यहरुको बारेमा प्रदेश कमिटीको सचिवालयले नाम लिष्ट माग्ने क्रम सुरु गरेको छ । चार सदस्यीय प्रदेश कमिटीमा जिल्लाका दुई पार्टीका तत्कालिन इन्चार्ज र अध्यक्षहरु आमन्त्रित सदस्यको रुपमा रहेका छन् । इन्चार्ज र अध्यक्षको सिफारिसको आधारमा चार सदस्यीय सचिवालयले कार्यदललाई बुझाउनेछ ।

साउन २४ गतेसम्म जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली सचिवालयमा बुझाइसक्नुछ । नेकपाका एक नेताले रामेछाप न्युजसँग भने,‘सदस्य संख्या बाँडफाँडमा नै छलफल भइरहेको छ, सदस्य कति–कति लिने भन्ने विषयको टुंगो लागेपछि नामावली सिफारिस हुन्छ ।’ पूर्व एमालेबाट ७४ सदस्यीय जिल्ला कमिटी सदस्य रहेको छ । एक नेताका अनुसार पूर्व एमालेबाट ७४ जना मध्येबाटै जिल्ला कमिटीमा समावेश हुनेछन् । त्यसैगरी पूर्व माओवादी केन्द्रले पनि जिल्ला कमिटीमा रहने नेताहरुको लिष्ट तयार गरिरहेको छ ।
आधा–आधा भएको अवस्थामा ६७/६७ जना केन्द्रीय सदस्य गरी १३५ हुनेछ । जिल्ला कमिटीमा समावेश हुने सदस्यहरुको टुंगो लगाउन पूर्व जिल्ला इन्चार्ज, पूर्व जिल्ला अध्यक्ष र रामेछापबाट केन्द्रीय सदस्य भएका नेताहरुले गृहकार्य सुरु गरेका छन् ।

७ जनाको कार्यालय टिम
जिल्ला कमिटी १३५ सदस्य भएपनि जिल्लामा ७ सदस्यीय कार्यालय टिम बन्नेछ । जिल्ला इन्चार्ज, संयोजक, जिल्ला अध्यक्ष र सचिव सहित तीन जना सदस्य गरी सात सदस्य रहने छन् । जिल्ला इन्चार्ज, संयोजक, अध्यक्ष र सचिव पनि माथिल्लो कमिटीबाट तोकिने छन् । कार्यदलले दिएको रिपोर्ट अनुसार इन्चार्ज, संयोजक, अध्यक्ष र सचिवको टुंगो लाग्नेछ । पूर्व एमालेले इन्चार्ज पाए पूर्व माओवादी केन्द्रले संयोजक पाउनेछ । इन्चार्ज, संयोजक, अध्यक्ष र सचिवको लागि पनि नेताहरुले आन्तरिक गृहकार्य अगाडि बढाएका छन् । कार्यकारी पदमा नरहेको अवस्थामा पार्टीले जिम्मेवारी दिनसक्ने एक केन्द्रीय सदस्यले बताए ।

नगरपालिकामा ८१ र गाउँपालिकामा ७५ सदस्यीय
रामेछापको ८ वटा स्थानीय तह मध्ये २ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको छ । पार्टीको अन्तरिम विधान अनुसार नगरपालिकामा ८१ सदस्यीय र गाउँपालिकामा ७५ सदस्यीय बन्ने भएको छ । साविकका गाविसहरु मिलेर नगरपालिका र गाउँपालिका बनेको र व्यवस्थापन गर्नको लागि जम्बो कमिटी बन्ने भएको छ । एक नेताले दुवै पार्टीका नेताहरुलाई व्यवस्थापन गर्नको लागि जम्बो कमिटी नभएको दावी गरे ।

केन्द्रीय सदस्यले सुरु गरे परामर्श
जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली बारेमा रामेछापका केन्द्रीय सदस्य पुर्व इन्चार्ज र अध्यक्षहरुले नेताहरुले परामर्श सुरु गरेका छन् । रामेछापबाट नेकपाबाट देवशकंर पौडेल, श्यामकुमार श्रेष्ठ, कमल चौलागाई, कैलाश ढुंगेल, युवराज चौलागाई र माधव ढुंगेल केन्द्रीय रहेका छन् । छलफलमा पूर्व एमालेका जिल्ला अध्यक्ष समेत रहेका प्रदेश ३ का सांसद शान्ति पौडेल, पूर्व नेकपाका जिल्ला संयोजक मैन कुमार मोक्तान लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्