रामेछापमा बन्द रहेको लाप्चाने इलाका प्रशासन कार्यालय पुनःखुल्ने भो



२१ साउन, रामेछाप ।
एक बर्ष अघिबाट बन्द रहेको रामेछापका इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । कर्मचारीको अभावमा बन्द भएको इकाला प्रशासन कार्यालय पुनः सञ्चालनमा आउने भएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बन्द रहेको इकाला प्रशासन कार्यालय सञ्चालन गर्नको लागि गृह मन्त्रालयले कर्मचारीको व्यवस्था भएको रामेछाप न्युजलाई बताए ।
उनले भने,‘कर्मचारीको अभावमा सेवा सञ्चालन गर्न सकेको थिएनौ, गृह मन्त्रालयले कर्मचारीको खटाइसकेको छ, अबको १५ दिनपछि कार्यालय सञ्चालनमा आउछ ।’ कार्यालयमा एक जना अधिकृत, दुई जना नायक सुब्बा, एक सहायक कम्प्युटर प्राविधिक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ ।


गत भदौै ९ गतेबाट उक्त इकाला प्रशासन कार्यालय कर्मचारीको अभावमा बन्द भएको थियो । स्थानीय जनप्रतिनिधिले पटक–पटक सेवा सञ्चालन गर्न माग गरेका थिए । केही समय अघि मात्र रामेछापका प्रतिनिधिसभा सासंद श्यामकुमार श्रेष्ठको नेतृत्वको टोलीले कार्यालय पुनः सञ्चालनको लागि कर्मचारीको व्यवस्था गर्न गृह मन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गरेका थिए ।
गृहमन्त्री थापाले तत्काल कर्मचारीको व्यवस्था गर्ने प्रतिबद्धता अनुसार उक्त कार्यालयमा कर्मचारी खटाइएको छ । प्रमुख जिल्ला अधिकार शर्माले पनि इकाला प्रशासन कार्यालय सञ्चालनमा ल्याउनको लागि पहल गरेकै कारण रामेछापको उमाकुण्ड गाउँपालिकाका बासिन्दालाई अब नागरिकता लगायतको सेवा लिनको लागि सदरमुकाम मन्थली धाउन नपर्ने भएको छ ।
गृह मन्त्रालयले इकाला प्रशासन कार्यालय लाप्चानको लागि सञ्जय अधिकारीलाई कार्यालय प्रमुखको रुपमा जिम्मेवारी तोकेको छ । रामेछापको उत्तरपूर्वी क्षेत्रमा रहेको साविकको ८ वटा गाविसका नागरिकलाई सेवा पुर्याउने उदेश्यले कार्यालय सञ्चालनमा ल्याइएको थियो । तर दुई बर्ष अघि सञ्चालनमा आएको कार्यालयबाट तीन महिना मात्र सेवा प्रवाह भएको थियो ।
कार्यालयमा सरकारले अधिकृतस्तरको कर्मचारी पठाउन नसक्दा केही समय सञ्चालन हुने र बन्द हुने क्रम चल्दै आएको थियो । एक बर्षदेखि पूर्ण रुपमा उक्त कार्यालयबाट सेवा प्रदान हुन सकेको छैन् ।


रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले नागरिकहरुलाई घर दैलोमा नै सेवा पुर्याउने उदेश्यले सञ्चालनमा आएको कार्यालय पुनः सञ्चालनमा ल्याउन जनप्रतिनिधिहरुले पहल गरेको बताए । उनले भने,‘नागकिरहरुलाई गाउँघरमा नै सेवा दिनुपर्छ, बन्द रहेको कार्यालय सञ्चाालनमा आउनु सुखद पक्ष हो ।’
ईलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, नाता प्रमाणित लगायतका सेवा प्रदान हुन्छ । कार्यालय बन्द हुँदा यस क्षेत्रका नागरिकहरु नागरिकता बनाउने लगायतको सेवा लिन सदरमुकाम मन्थली धाउन बाँध्य हुदै आएका थिए ।
ईलाका प्रशासन कार्यालय लाप्चानेबाट जिल्लाका उत्तरपूर्वका तत्कालिन प्रीति, भूजी, गुप्तेश्वर, चुचुरे, गुम्देल, कुभुकास्थली, ठोसे र बाम्तीभण्डारका नागरिकहरुले सेवा लिदै आएका थिए । लाप्चाने आसपासको क्षेत्रबाट सदरमुकाम मन्थली आउनको लागि चार घण्टा गाडीको यात्रा गर्नुपर्छ । पुनः कार्यालय सञ्चालनमा आउने भएपछि यस क्षेत्रका बासिन्दाहरुमा भने खुसीयाली छाएको छ ।

उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले पटक–पटक गरेको पहलबाटै बन्द रहेको कार्यालय सञ्चालनमा आउन सकेको बताए । ‘पाँच पटक कार्यालय सञ्चालन गर्न गृहमन्त्रालय धाइयो,धाएको परिणाम राम्रो भो’, उनले रामेछाप न्युजसँग भने । दुई बर्ष अघि इकाला प्रशासन कार्यालय सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्