भुकम्प पीडितलाई घर बनाउने म्याद फेरि थपिने



२२ साउन, काठमाडौं ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प पछिको पुनः निर्माणका कामलाई पूर्ववत् राख्न भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहलाई अनुरोध गरेको छ ।

प्राधिकरणले यसअघि २०७३ पुससम्म अनुदान सम्झौता गरी पहिलो किस्ता ५० हजार लिएका लाभग्राहीलाई २०७४ असारसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो । प्राविधिक, निर्माण सामग्रीको अभाव लगायत कारणले दोस्रो किस्ता लिन नसक्ने सङ्ख्या अझै तीन लाखभन्दा बढी छ ।

मंगलबारसम्म प्राधिकरणमा प्राप्त तथ्याङ्कअनुसार दोस्रो किस्ताका लागि चार लाख ९३ हजार २०० लाभग्राही प्रमाणीकरण भएका छन् । प्रमाणीकरण भएपछि पीडितले अनुदान पाउन समय लाग्ने भएकाले म्याद थप्ने तयारी गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।

लाभग्राही सूचीमा आठ लाख सात हजार ४८६ परिवार सूचीकृत छन् ।  भूकम्प प्रभावित ३२ वटै जिल्लाका जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार र भवनलाई काम नियमित गर्न पत्राचार गरिएको गरिएको छ ।
प्रभावित जिल्लाका सबै स्थानीय तहलाई पनि अनुदान सिफारिशलगायत पुनः निर्माणका काम पूर्ववत् गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्