कुलमान घिसिङकोको कमालःप्राधिकरणको नाफा एक अर्ब बढी



२९ साउन, काठमाडौं ।
उज्यालो अभियानको नेतृत्व गरेर सफलता हासिल गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छोटो अवधिमा नै प्राधिकरणलाई नाफामा लान सफल भएका छन् ।
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४÷०७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने दावी गरेको हो । गत आवमा प्राधिकरणको सञ्चालन मुनाफा रु सात अर्ब ८६ करोड थियो । अन्य वित्तीय खर्च कटौती गरेपछि खुद मुनाफा आउँछ ।

विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युतको औसत खरीद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, विद्युत भार कटौतीको अन्त्य, वित्तीय पुनःसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।

चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै चार अर्ब थप आम्दानी भएको छ । गत वार्षिकोत्सवमा आव २०७३÷७४को प्राधिकरणको खुद नोक्सानी रु ९७ करोड ८९ लाख हुने प्रक्षेपण गरिएकोमा अन्तिम लेखा परीक्षणपछि खुद नाफा रु एक अर्ब ५१ करोड देखिएको थियो । प्राधिकरणको सञ्चित नोक्सानी अझै रु २८ अर्ब १२ करोड छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करीब दुई अर्ब ५० करोड हुने प्रक्षेपण गरेको बताउदै प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएको बताए ।
मैले जिम्मेवारी सम्हाल्दा संस्था आठ अर्ब ८९ करोड वार्षिक घाटामा थियो, सबै पक्षको निरन्तर सहयोगबाट गतवर्ष पनि संस्था नाफामा गएको हो, तर हामीले सोचे जति सफलता हासिल गर्न अझै सकिरहेको छैनौ, उनले भने ।
चुहावट नियन्त्रण गर्न प्राधिकरणले चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्