रामेछापकाे दोरम्बामा पहिलो पटक जनताको घरमा प्रचण्ड (फोटोफिचर)



नारायण श्रेष्ठ
१ भदौ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोरम्बामा बास बसेर आज काठमडौं फर्किएका छन् । १५ औ दोरम्बा हत्याकाण्ड स्मृति दिवसलाई सम्बोधन गर्न विहिवार दोरम्बा आएका प्रचण्ड एक रात जनताकै घरमा बास बसेर फर्किएका हुन् । दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित मानेडाँडाका स्थानीय नेकपाका कार्यकर्ता रेशमलाल लामाको घरमा बास बसेका हुन् ।

दोरम्बामा बास बसेका प्रचण्डले रामेछापका नेता तथा कार्यकर्ताहरुसँग अनौपचारिक कुराकानी समेत गरेका थिए । प्रचण्डले दोरम्बालाई पर्यटकीयस्थलको विकास गर्नको लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रचण्डले बसाइको क्रममा दोरम्बा ऐतिहासि भूमि भएको र यहाँको प्राकृतिक स्वरुप पनि निकै मनमोहक भएको भन्दै प्रशसा गरेका थिए ।
दोरम्बाको विकास गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै दोरम्बावासीसँग प्रचण्डले भने,‘रोल्पा रुकुम हुँदै जाजरकोटसम्म गुरिल्ला पदमार्ग निर्माणको काम भइरहेको छ, रामेछापमा पनि खैरनीघाट, बेथान, दोरम्बा हुँदै सैलुङलाई जोडेर गुरिल्ला पदमार्ग बनाउन म पहल गर्छु, प्रधानमन्त्रीसँग पनि कुरा गर्छु ।’

उनले पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्नको लागि न्युनतम आधार तयार गर्न स्थानीय सरकारलाई निर्देशन दिदै आगामी आर्थिक नीति तथा कार्यक्रम र बजेटमा युद्ध पर्यटनको रुपमा समावेश हुने प्रतिबद्धता दिए ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले रामेछाप न्युजसँग भने,‘अध्यक्ष आउदा हामी निकै खुसी छौ, झन एक रात दोरम्बामै अध्यक्षलाई राख्न पाउदा उहाँले दोरम्बालाई झन नजिकबाट बुझनुभयो ।’ गाउँपालिकाले पनि दोरम्बालाई युद्ध पर्यटनस्थलको रुपमा विकास गर्ने लक्ष्य यस अघि नै राखेको बताउदै अध्यक्षको प्रतिबद्धताले अझ उत्साहित भएको बताए । तत्कालि नै गाउँपालिकाले गर्नुपर्ने काम गरेर युद्ध पर्यटनस्थलको रुपमा विकास गर्नको लागि कानुनी प्रक्रिया पुरा गर्ने काममा लाग्ने अध्यक्ष लामाले बताए । प्रचण्डको भनाई उदृत गर्दै उनले रामेछाप न्युजसँग भने,‘दोरम्बा प्राकृतिक दृष्टिकोणले सुन्दर ठाउँ हो, नेपालको परिवर्तनको इतिहासमा दोरम्बाको ठूलो योगदान छ, राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपले परिचित दोरम्बाको विकासमा तीन तहकै सरकारले विशेष ढंगले काम गर्नुपर्छ ।’


रामेछापका नेताहरुले प्रचण्डसँग विशेषगरी यस क्षेत्रको मुख्य सडकको रुपमा डिपिआर समेत भइसकेको खैरेनीघाट, बेथान, गाल्वा दोरम्बा खोलाखर्क हुँदै दोलखासम्म जोडन सडकको कालोपत्रेको लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । अध्यक्ष लामाले बैठक बसिरहेको युवराज लामाको घरदेखि हत्या गरिएको डाँडाकटेरीसम्मको मार्गलाई विशेष ढंगले विकास गर्ने योजना रहेको बताए ।

 

डाँडाकटेरीमा २१ जना शहीदहरुको शालिक निर्माण गर्नको लागि शहीद प्रतिष्ठान दर्ता गरेर जग्गा खरिदको प्रक्रिया अगाडि बढाउने काम गाउँपालिकाले अगाडि बढाएको छ । प्रचण्ड आज बिहान साढे ६ बजे दोरम्बाबाट काठमाडौं प्रस्थान गरेका थिए । प्रचण्ड दोरम्बा नै बसेपछि दोरम्बावासी थप उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्