राष्ट्रिय सम्पदा सूचीमा सुचिकृत केवलेश्वर मन्दिरको अस्तित्व संकटमा



५ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको ऐतिहासिक धार्मिकस्थल केवलेश्वर मन्दिर संरक्षणको अभावमा ओझेलमा परेको छ । रामेछाप जिल्लाको धार्मिकस्थलको रुपमा परिचित ऐतिहासिक केवलेश्वर मन्दिरको उचित व्यवस्थापन र प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । मन्दिरको संरक्षण र व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन् ।

रामेछाप नगरपालिका–८ बाबियाखर्कमा अवस्थित सैयौ वर्ष पुरानो रामेछापको ऐतिहासिक मन्दिर केवलेश्वर मन्दिर दिनप्रतिदिन जिर्ण हुँदै गएको छ । सयौ दर्शनार्थी आउने मन्दिरको भौतिक संरचना समेत जिर्णे बनेको छ ।

संरक्षणको अभावमा मन्दिरको अस्थितत्व नै खतरामा परेको छ । रामेछाप नगरपालिका–८ बावियाखर्कका स्थानीय पण्डित शिव घिमिरेले मन्दिरको संरक्षण गर्नको लागि ध्यान नदिदा अस्तित्व नै खतरामा परेको बताए ।
सैयौँ वर्ष पुरानो जिर्णे मन्दिरको गजुर ढल्किँदै गएको छ । ढुंगा माटोबाट निर्मित मन्दिरको भित्ताहरु मर्मतसम्भार नहुँदा मन्दिर भत्कने क्रम सुरु भएको छ । मन्दिर नजिकै निरन्तर पानी आइरहने धारामा केही वर्षयता पानी आउन छाडेको छ ।

रामेछाप नगरपालिकाका–८ का वडा अध्यक्ष केदार कार्कीले केवलेश्वर मन्दिर संरक्षण गर्न स्थानीय तहले तयारी थालेपनि राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत मन्दिर भएको कारणले पुरातत्व विभागले स्थानीय तहलाई संरक्षण गर्न नदिएको गुनासो गरे । तर समयमा नै मन्दिरको मर्मत सम्भार नगर्ने हो भने ऐतिहासिक सम्पदा नै संकटमा पर्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्