रामेछापको गाइखुरामा बन्ने भयो एकीकृत वस्ती



५ भदौ, काठमाडौं ।भुकम्प गएको तीन बर्षपछि रामेछाप जिल्ला मन्थली नगरपालिका–८ गाइखुरामा एकीकृत बस्ती बन्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको हो ।

प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती, मेलम्ची नगरपालिका १२ स्थिति नम्डोललिङ एकीकृत बस्ती र भोटेकोशी गाउँपालिका ५ को त्याङथाली एकीकृत नमूना बस्ती योजनालाई स्वीकृत गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका ८ मा २४ घरको माझी बस्ती गाइखुरा एकीकृत बस्ती निर्माण गर्ने योजनालाई पनि स्वीकृत गरेको छ ।

बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्न योग्य घर जनिएका व्यक्तिहरुको सूची सो बमोजिम घर भए÷नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्