सुनापती गाउँपालिकामा पुनः वन कार्यालय स्थापना गर्न जनप्रतिनिधिको पहल



८ भदौ, रामेछाप ।
सुनापती गाउँपालिकाले ईकाला वन कार्यालय पुनः स्थापनाको लागि पहल सुरु गरेको छ । नयाँ संरचना अनुसार रामेछापमा आठ वटा स्थानीय तहमा ६ वटा मात्र वन कार्यालय राख्ने निर्णय गरेपछि सुनापतीबाट वन कार्यालय हटेको थियो । गाउँपालिकासँग परामर्श नै नगरी वन कार्यालय हटाएको भन्दै जिल्ला समन्वय समिति र सुनापती गाउँपालिकाको पहलमा पुनः कार्यालय स्थापनको लागि वन मन्त्रालयमा माग गरिएको छ ।


सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकामा पुनः वन कार्यालय राख्नको लागि पहल सुरु गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाको कार्यालयमा एउटा वन कार्यालय अनिवार्य रुपमा चाहिन्छ,वन कार्यालय स्थापना गर्न वन मन्त्री शक्तिबहादुर वस्नेतसँग पनि कुरा राखेको छु ।’
अध्यक्ष लामाका अनुसार सुनापती गाउँपालिकालाई हेर्ने गरी खाँडादेवी गाउँपालिकाको चुल्ठे पानीमा वन कार्यालय स्थापना भएको छ । जिल्ला वन कार्यालयले रामेछापको आठ वटा स्थानीय तह हेर्ने गरी ६ वटा मात्र वन कार्यालयको प्रस्ताव गरेर पठाएपछि सुनापती गाउँपालिकाले असन्तुष्टि जनाएको छ । गत साउन १ गतेबाट सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीमा रहेको वन कार्यालय हटेको थियो ।

प्रतिक्रिया दिनुहोस्