दोरम्बा स्वास्थ्य चौकीलाई सफलताः अब १५ शैयाको अस्पताल बन्ने



नारायण श्रेष्ठ
९ भदौ, रामेछाप । दोरम्बा गाउँपालिका–२ दोरम्बामा रहेको स्वास्थ्य चौकीले आफ्नै नाममा जग्गा प्राप्त गर्न सफल भएको छ । लामो समयदेखि आफ्नो नाममा जग्गा ल्याउन स्वास्थ्य चौकीले गरेको प्रयासलाई जनप्रतिनिधिहरु सम्भव बनाएका हुन् । गाउँपालिकाको पहलमा स्वास्थ्य चौकी दोरम्बाले २७ रोपनी १२ आना जग्गाको लालपूर्जा प्राप्त गरेको छ । स्वास्थ्य चौकीको नाममा जग्गा नहुँदा भौतिक संरचना निर्माण गर्नको लागि समस्या सृजना हुदै आएको थियो ।


दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठले गाउँपालिकाको पहलमा स्वास्थ्य चौकीको नाममा २७ रोपनी १२ आना जग्ग्गा ल्याउन सफल भएको रामेछाप न्युजलाई बताए । उनले भने,‘स्वास्थ्य चौकीको नाममा जग्गा ल्याउन निकै ठूलो मेहनत गर्नु पर्यो, गाउपालिकाको सक्रिय भूमिका, सरकारको सहयोगकै कारण जग्गा प्राप्त भएको छ, यो दोरम्बावासीको लागि निकै ठूलो सफलता र खुसीको विषय हो ।’

स्वास्थ्य चौकीलाई जग्गा प्रदान गर्नको लागि रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, मातपोत कार्यालय रामेछापका प्रमुख बद्री प्रसाद ढकालले महत्वपूर्ण सहयोग गरेका थिए ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले दोरम्बावासीको समस्यालाई समाधान जग्गा प्राप्तिको लागि सहयोग गर्ने प्रजिअ शर्मा र मातपोत कार्यालयका प्रमुख ढकालले खेलेको भूमिकाप्रति स्थानीय सरकार र दोरम्बासी निकै खुसी रहेको रामेछाप न्युजलाई बताए ।


वडा अध्यक्ष श्रेष्ठले दोरम्बा स्वास्थ्य चौकीको नाममा जग्गा प्राप्त भएपछि दोरम्बा गाउँपालिकाको महत्वपूर्ण योजनामा रहेको १५ शैयाको अस्पताल निर्माणको काम अगाडि बढाउन सहज भएको बताए । शुक्रवार प्रमुख जिल्ला अधिकारी शर्माबाट वडा अध्यक्ष श्रेष्ठले स्वास्थ्य चौकीको लालपूर्जा बुझेका थिए ।

प्रतिक्रिया दिनुहोस्