उमाकुण्ड गाउँपालिकामा १५ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो



भदौ १२, रामेछाप ।
उमाँकुण्ड गाउँपालिकाभित्र पहिरोको जोखिममा परेका पन्ध्र घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । गाउँपालिकाको पहलमा पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

उमाकुण्ड गाउँपालिकाको अध्यक्ष शेरबहादुर सुनुवारले पन्ध्र घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको रामेछाप न्यूजलाई बताए । गाउँपालिकाको विभिन्न क्षेत्रमा पहिरो गएको छ । उनका अनुसार तीन बर्ष अघि गएको विनाशकारी भुकम्पको कारण चिरा परेको जमिन झन फाटन थालेको छ । पहिरोका कारण झण्डै पाँच दर्जन भन्दा बढी घरहरु जोखिमा रहेका छन् । धेरै जोखिम भएका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरेका छौ, अध्यक्ष सुनुवारले भने ।

केही दिनदेखिको परेको अविरल बर्षाका कारण उमाकुण्ड गाउँपालिकामा विभिन्न ठाउँमा पहिरो खस्ने क्रम बढेको छ । पहिरोका कारण गाउँपालिकाभित्रका विभ्निन सडकहरु अवरुद्ध बन्न पुगेको छ ।

पहिरोको कारणले सदरमुकाम मन्थली र काठमाडौं जाने सडक समेत अवरुद्ध भएको छ । लिखु तामाकोशी गाउँपालिका अन्तर्गत खिम्ती खोलाको छतिवनेमा सडक अवरुद्ध हुदाँ गाउँपालिका जोड्ने सडक समेत अबरुद्ध बन्न पुगेको छ । छतिवनेमा सडक सञ्चालन हुन नसक्दा उमाकुण्ड र गोकुलगंगा गाउँपालिका बासिन्दा दोलखाको जिरी नगरपालिका हुँदै आवत जावत गर्न बाँध्य छन् ।

-तस्बीर सौजन्यः जित नारायण श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्