जनतालाई गरीबीको जालोबाट मुक्त गर्नुपर्छः प्रम ओली



१४ भदौ, काठमाडौं ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताएका छन् ।

चौथो बिम्स्टेक शिखर सम्मेलनको विहिवार राजधानीमा शुभारम्भ गर्दै विश्वको कूल जनसङ्ख्याको २२ प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्ने बङ्गालको खाडी क्षेत्रका राष्ट्रका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्त, समृद्ध र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएको बताउनुभयो ।

सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रमा समृद्ध प्राकृतिक सम्पदा र क्रियाशील जनसङ्ख्याबाट सिर्जना हुने अनगिन्ती अवसर रहेको बताउँदै उहाँले क्षेत्रका जनतालाई गरीबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामीले बिम्स्टेक कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्नैपर्छ । सहस्राब्दी विकास लक्ष्यअन्तर्गत हासिल गरेका प्रगतिमा लगातार अघि बढ्दै आर्थिक सामाजिक रुपान्तरणका लागि सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य पूरा गर्ने उद्देश्यका साथ नेपाल अघि बढेको छ ।”

नेपालको संविधानले स्थापित गरेको लोकतान्त्रिक संरचनाले पनि नेपालको समृद्धि र नेपाली जनताको सुखीको चाहनालाई सुनिश्चित गरेको बताउँदै प्रधानमन्त्री ओलीले लोकतन्त्र, मानवअधिकार, सुशासन, विधिको शासन, सामाजिक न्यायप्रति नेपालको अटुट प्रतिबद्धता दोहो¥याउनुभयो ।

बिम्स्टेकका अध्यक्ष प्रधानमन्त्री ओलीले सदस्य देशबीच भौतिक रुपमा सम्पर्क विस्तार, भौतिक पूर्वाधार र उद्योगका माध्यमबाट सम्बन्ध र सम्पर्क स्थापना, सदस्य देशबीचका बजार र सदस्य राष्ट्रका नागरिक–नागरिकबीचको सानिध्यबाट नवप्रवत्र्तन, आर्थिक वृद्धि र प्रगतिपथमा प्रभावकारी अग्रसर हुन मद्दत पुग्ने बताउनुभयो ।

नेपाल सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा अघि सारेको बताउँदै उहाँले हामी सबैले समृद्ध बिम्स्टेक क्षेत्र र सुखी जनताको अपेक्षा गरेको पनि उल्लेख गर्नुभयो । सम्पर्क र सम्बन्ध विस्तार सुदृढ क्षेत्रीय सहयोगको माध्यम भएको बताउँदै उहाँले सदस्य देशलाई आर्थिक एकीकरणको जगमा उभ्याउने तत्व पनि सम्पर्क र सम्बन्ध स्थापनामै जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्