रामेछापको गोकुलगंगा र उमाकुण्ड जाने अवरुद्ध सडक खुल्यो



१५ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको खिम्तीस्थित छतिवनेको गोकुलगंगा र उमाकुण्ड जाने अवरुद्ध सडक सञ्चालनमा आएको छ । जनप्रतिनिधिको पहलमा एक सातादेखि अवरुद्ध सडक सञ्चालनमा आएको हो ।

गत ९ गतेदेखि खिम्ती खोला आएको बाढी र छतिवनेमा आएको पहिरोको कारण अवरुद्ध भएको सडक गोकुलगंगा गाउँपालिकाको पहलमा सुचारु गरिएको हो ।
गोकुलगंगा गाउँपालिका–६ फर्पुका वडा अध्यक्ष चन्द्र सुनुवारले रात दिन नभनी अवरुद्ध सडक सञ्चालनमा ल्याइएको रामेछाप न्युजलाई बताए । उनले भने,‘एउटा जेसिबी र दुई वटा स्काभेटर लगाएर सडक सञ्चालनमा ल्याएका छौं, अझै केही काम बाँकी छ ।’


खिम्ती खोलाले गत बर्षदेखि छतिवनेमा दुःख दिदा रामेछापका दुई गाउँपालिकाका नागरिकहरुलाई सास्ती हुने गरेको छ । आजबाट अवरुद्ध सडकमा यातायात सञ्चालन भएको छ, केही सडक अझै बनाउन बाँकी नै छ, वडा अध्यक्ष सुनुवारले भने । अवरुद्ध सडक निर्माण गर्नको लागि लाग्ने खर्च गोकुलगंगा गाउँपालिकाले बेर्होने बताउदै उनले करिब एक किलो मिटर सडकको मर्मत गर्न बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्