बल्ल राष्ट्रिय राजमार्गले जोडियो रामेछाप



१७ भदौ, रामेछाप ।  सडक सञ्जालले जोडिएको लामो समयपछि रामेछाप जिल्ला बल्ल राष्ट्रिय राजमार्गले जोडिएको छ । एक बर्ष अघिबाट रामेछापको सुनकोसी किनाराबाट मध्य पहाडी (पुष्पलाल) राजमार्ग निर्माण भएसँगै राष्ट्रिय राजमार्गले जोडिएको हो । यस अघि रामेछाप जिल्ला सहायक राजमार्गले मात्र जोडिएको थियो । रामेछापको ८ वटा स्थानीय तहमा हालसम्म करिब १२ किलोमिटर सडक निर्माण भएपनि राष्ट्रिय राजमार्गले जोडिन सकेको थिएन ।


दुई बर्ष अघिबाट रामेछापका खाँडादेवी गाउपालिका, सुनापति गाउँपालिका हुँदै मध्ये पहाडी राजमार्ग निर्माण सुरु भएको थियो । खुर्कोट–नेपालथोक खण्डमा पाँच सय मिटर मात्र सडकको ट्रयाक ओपन गर्न बाँकी रहेको मध्य पहाडी राजमार्गका इन्जिनियर विजय चापागाईले रामेछाप न्युजलाई बताए । उनका अनुसार हाल लुभ–बेथान खानीखोला खण्डको काम धमाधम भइरहेको छ ।
चौरीखोलादेखि खानीखोलासम्मको सडक खण्डको काम भइरहेको चापागाइले बताए । रामेछापको खाँडादेवी गाउँपालिका हुँदै सुनापती गाउपालिकाको गुन्सीबाट काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका जोडिनेछ । मध्ये पहाडी लोकमार्गले रामेछापलाई दोललघाट सिन्धुली जिल्ला जोडनेछ । खुर्कोटबाट गुन्सीसम्म दुई खण्ड गरी करिब ५० किलोमिटर सडक निर्माणको काम भइरहेको छ । दस मिटर चौडाई भएको यस सडक दुई लेनको हुनेछ । सरकारले उच्च प्राथमिकतमा परेको सडक निर्माणको काम आगामी पाँच बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सडक डिभिजन कार्यालय खुर्कोटका इन्जिनियर रामबहादुर विश्वकर्माले मध्य पहाडी लोकमार्गले रामेछाप जिल्लालाई राष्ट्रिय राजमार्गले जोडेको बताए । उनले रामेछाप न्युजसँग भने,‘रामेछाप जिल्लालाई जोडने दुई वटा कालोपत्रे भएका सडक सहायक राजमार्ग हुन ।’ सिन्धुलीको खुर्कोट र दोलखाको तामाकोसी हुँदै दुई सहायक राजमार्गले रामेछापलाई जोडेको छ । उनका अनुसार रामेछाप जिल्लामा करिब ५० किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।

प्रतिक्रिया दिनुहोस्