मोबाइल फोनको शुल्क घटाउन टेलिकमलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं भदौ १७, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवशलाई जनताको दिवश बनाउनु पर्ने बताउनुभएको छ । गृह मन्त्रालयले आज आयोजना गरेको संविधान दिवश मूल समारोह समितीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठुलो संघर्ष गरेकोले त्यसको खुशियालीको रुपमा आएको संविधान पनि जनताले खुशियालीपूर्ण ढंगले मनाउन पाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “ २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । संविधान दिवश सबभन्दा ठुलो राष्ट्रिय दिवश हो । यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले संविधान दिवशलाई सरकारी कार्यक्रम जस्तो मात्र बनाउनु नहुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले संविधान दिवशको अवसर पारेर शैक्षिक संस्था,स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभएको छ । “संविधान दिवशलाई सबैको दिवश बनाउनु पर्दछ ।
यो जनजाती,महिला,दलित,मधेस,पहाड,हिमाल सबैकोे उत्सवको दिन हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झांकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।”
प्रधानमन्त्री ओलीले संविधान दिवशको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञा प्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले संविधान दिवशका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोवाइल सेवामा सहुलियत प्रदान गर्न पनि आग्रह गर्नुभएको छ ।