मालपोत र नापी कार्यालयमा अब झन्झट हुँदैनः मन्त्री अर्याल



काठमाडौँ, २१ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत तथा नापी कार्यालयमा जग्गासम्बन्धी काम गर्न सरल भाषाको फारम लागू गर्न थालिएको बताउनुभएको छ । उहाँले झन्झटिला ठूला फारामको सट्टा सेवाग्राही आफैले भरेर काम गर्नसक्ने खालको सानो तर सरल भाषाको फारम लागू गर्न थालिएको बताउनुभएको हो ।

मंगलवार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले ठूला फारममा सेवाग्राहीले तेस्रो पक्षको सहयोग लिनुपर्दछ, जसले गर्दा उनीहरुलाई अतिरिक्त रकम दिनुपर्ने बाध्यता रहेको बताउनुभयो । “सेवाग्राहीले आफैँले भर्नसक्ने खालको फारम अब लागू गर्दछौँ, यसबाट सेवाग्राहीलाई अनावश्यक खर्चे व्यहोर्नु पर्दैन”, उहाँले भन्नुभयो ।

मन्त्री अर्यालले पहिलो चरणमा आगामी हप्ताबाट अनलाइन प्रणाली लागू भएका ३० वटा मालपोत तथा नापी कार्यालयमा ती सानो साइजका फारम भर्ने व्यवस्था लागू गरिन लागेको उल्लेख गर्दै यो व्यवस्था लागूभएपछि तेस्रो पक्षको सहयोग लिनुनपर्ने र विचौलियाकोसमेत अन्त्य हुने बताउनुभयो ।

नागरिकको बढी भीडभाड हुने कार्यालयको बेथितिलाई रोक्न मन्त्रालयले विशेष अभियान सञ्चालन गर्न लागेको छ, उहाँले भन्नुभयो, “आफ्नो मातहतका १३१ कार्यालयमा चाँडै नै अनलाइन प्रणालीबाट सेवा दिन थालिने छ ।”

प्रतिक्रिया दिनुहोस्