खहरेबाट जटापोखरीसम्म केबलकार ! रामेछाप समृद्धिको आधार (फोटोफिचर)



रामेछाप । प्राकृतिक सौन्दर्यले भरिएको दृष्य देख्दा कसको मन नराउला र ? कलकल बगेको खोला र खोल्सा जताततै हरियी दृष्य अहा ! कन्चन देखिने पोखरीले हेर्दाको आनन्द छुट्टै । मनोरम प्राकृतिक दृष्यको रसपान गर्न पाउनु निकै आनन्ददायी हुन्छ । प्राकृतिक स्रोत र साधनले नेपाल निकै धनी छ ।


रामेछापको उत्तरी क्षेत्रमा रहेको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा रहेका पोखरीहरुले धेरैलाई लोभ्याउने गरेको छ । पाँच पोखरी तथा जट्टा पोखरी प्रकृति उपहार हुन । पाँच पोखरीको चर्चा हुने गरेपनि चुचुरेमा रहेको जट्टा पोखरी, जुम्ल्याहा पोखरी, काल पोखरी, जोर पोखरी, दुध पोखरी, रत्न पोखरीको भने उचित प्रचार हुन सकेको छैन् ।
। रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१ चुचुरे विभिन्न क्षेत्रमा रहेको पोखरी नै पर्यटन आकर्षणको प्रमुख गन्तव्य हुन् । उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाले यस क्षेत्रलाई नै समृद्धिको आधार बनाएको छ । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण यस क्षेत्र पोखरी नै पोखरी भएको रुपमा परिचित छ । यस क्षेत्र धार्मिक ऐतिहासिकसँगै जडिबुटीको रुपमा पनि परिचित छ । बहुमुल्य जडिबुटी पाइने विभिन्न अध्ययनले देखाएको छ ।


गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले दर्जनौ पोखरीहरुको उचित प्रचार गरेर देशकै पर्यटक गन्तव्यको रुपमा चिनाउने कार्यमा आफूहरु जुटेको बताउछन । उनले भने,‘चुचुरेमा रहेको पोखरीहरुलाई उचित प्रचार प्रसार गर्न मात्र सके गाउँपालिका मात्र होइन देशले नै ठूलो फाइदा लिन सक्छ । उनका अनुसार जडिबुटीको पनि यस क्षेत्रमा ठूलो सम्भावना छ ।


जट्टा पोखरी, पाँच पोखरी, वौला पोखरी, भाले पोखरी, भुत पोखरी, जम्ल्याह पोखरी, काल पोखरी, जोरी पोखरी, दुध पोखरी, रत्न पोखरीको प्रचारको पखाईमा रहेको छ । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोके पनि भौतिक पूर्वाधार लगायतको सेवा सुविधाको अभाव रहेको छ । गाउँपालिकाले यस क्षेत्रको उचित प्रचारसँगै भौतिक पूर्वाधार निर्माणको कार्यालाई पनि जोड दिनु पर्ने आवश्यकता छ । होटल, सडक, सञ्चार, बिजुली लगायतका अत्यावश्यकीय सेवा उपलब्ध गराउने कार्यमा गाउँपालिकाले ध्यान दिनुपर्छ । यस क्षेत्रको गुरु योजना बनाएर नै पर्यटक भित्र्याउने योजना बनाउन सके हजारौलाई रोजगारी सृजना गर्ने उद्योग पनि बन्न सक्छ । यस क्षेत्रको ऐतिहासि धार्मिक पर्यटकीय क्षेत्रलाई चिनाउनको लागि योजनावद्ध रुपमा नै काम गर्नुपर्ने दायित्व गाउँपालिकाको हो ।

समुद्री सतहबाट ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको यस क्षेत्रमा चौरी प्रशस्त रुपमा पाइन्छ । यस क्षेत्रमा जडामसी लगायतका जडिबुटी पाइन्छ । यस क्षेत्रमा लोडसल्ला, चिराईतो पाखनवेद, ठूलो ओखती, पाँच औले, जटामसी, सुनापति, विषमारलगायतका जडिबुटी यस क्षेत्रमा प्रचुर मात्रामा पाइन्छ ।

पाँच पोखरीमा जनाईपूर्णिमाको दिन विशेष मेला लाग्न गर्दछ । सरकारले सन् २०२० सम्म २० लाख पर्यटन नेपालमा ल्याउने लक्ष्य राखेको छ । नेपालमा आउने पर्यटकलाई गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको पर्यटकीय क्षेत्र जट्टापोखरी र पाँच पोखरीमा भित्र्याउन सके रामेछाप जिल्लाकै आर्थिक समृद्धिको लागि टेवा पुग्न सक्ने गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खडगबहादुर सुनुवार बताउनुहुन्छ ।


रामेछाप जिल्लाको गोकुलगँगा तथा उमाकुण्ड गाउँपालिका क्षेत्रमा पर्ने जटापोखरी क्षेत्र पछिल्लो समयमा आन्तरिक एवं बाह्य पर्यटनको संख्या बढेको बताउदै अध्यक्ष सुनुवारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको प्रवेसद्वार नाम्चे निस्कने मार्ग पनि यसै क्षेत्रबाट पर्ने बताउनुभयो ।

खिम्ति खोलाको शिर रहेको पाँच पोखरी र जटापोखरी धार्मिक पर्यटन निकै महत्वपूर्ण छ, उहाँले भन्नुभयो । चार हजार २ सय ५० मिटरको उचाईमा रहेको जटापोखरी ताल रहेको छ भने पाँच पोखरी भने ४ हजार ६ सय ५ मिटरको उचाईमा छ ।

खरेबाट जट्टापोखरीसम्म केबुलकारको योजना
गोकुलगंगा गाउँपालिका–१ चुचुरेको खहरेसम्म हाल सडक सञ्जाल जोडिएको छ । तर बर्षाको समयमा सञ्चालन गर्न कठिनाई छ । खहरेबाट जट्टापोखरीसम्म जानको लागि एक दिन लाग्छ । जट्टा पोखरीसम्म सडक लैजाने विषय निकै कठिन भएको गोकुलगंगा गाउँपालिकाका प्रवक्ता बलराम खडकाले बताउनुभयो । यस क्षेत्रको विकासको लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढाउन गाउँपालिकाले योजना अगाडि सारेको बताउदै आवश्यक भौतिक पूर्वाधार निर्माणमा ध्यान दिने बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘खहरेबाट जटापोखरीसम्म केबलकार बनाउने योजनामा जुटेका छौ ।’ होटल, विद्युत, सडक पैदल मार्ग निर्माणको लागि काम अगाडि बढाइने बताउदै गाउँपालिकाका अध्यक्ष सुनुवारले यस क्षेत्रको विकास गर्न सके रामेछापलाई नै समृद्धि बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । हामी गुरु योजना निर्माण गरेर नै काम अगाडि बढाउछौ,उहाँले भन्नुभयो । पर्यटकीय क्षेत्रको राम्रो सम्भावना बोकेको यस क्षेत्रको विकास गर्न सकेको अवस्थामा रामेछाप जिल्लाको आर्थिक विकासमा नै टुवा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्