सुनापती गाउँपालिकाका सबै विद्यालयलाई डहुजस्तै नमूना बनाउछौः अध्यक्ष लामा



२३ भदौ, रामेछाप ।  सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाभित्रका सबै विद्यालयहरुलाइ डहु माविजस्तै नमूना विद्यालयको रुपमा विकास गरिने बताएका छन् । उनले गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउदै डहु माविबाट अन्य विद्यालयहरुले धेरै कुरा सिक्न सक्ने बताएका हुन् ।


प्राविधिक शिक्षालाई बढी जोड दिनुपर्ने बताउदै अध्यक्ष लामाले भने,‘समयको माग अनुसारको शिक्षा अहिलेको आवश्यकता हो, शिक्षा क्षेत्रको परिवर्तनले मात्र समृद्धि समाज निर्माण गर्न सकिन्छ ।’ डहु माविलाई नमूना बनाउनको लागि शिक्षक अभिभाव, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिले खेलेको भूमिकालाई अन्य विद्यालयले पनि अनुसरण गर्नुपर्नेमा लामाले जोड दिए ।
३९ औं अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा डहु माविद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले सुनापती गाउँपालिका भित्रका सबै विद्यालयहरुलको शिक्षाको अवस्थामा सुधार ल्याउनको लागि योजना बनाएर अगाडि बढने बताए ।


कार्यक्रममा शिक्षा समितिका सदस्य रहेका फाइभ फिङगर प्रालिका अध्यक्ष बिबी तामाङले शैक्षिक सत्र २०७४ मा प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीहरुको लागि पुरस्कार वितरण गर्दे आगमी शैक्षिक सत्रबाट हाल वितरण हुँदै आएको पुरस्कार आफूले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।


त्यसैगरी उक्त कार्यक्रममा सुनाती भ्वाँसा च्यारिटी अस्पतालका अध्यक्ष कमानसिंह तामाङले विद्यालयमा अत्यावश्यक औषधी प्रदान गर्दै विद्यालय हुने गरेको घटनाका बिरामीलाई निशुल्क उपचार गर्ने प्रतिबद्धता जनाए ।

विद्यालयका प्रअ दलबहादुर बलले विद्यालयको गतिविधि र शैक्षिक योजनाको बारेमा आफ्नो धारणा आगामी दिनमा विद्यालयको शैक्षिक अवस्थालाई थप सुदृढ गरेर लैजाने बताए । उनले भने,‘सबैको प्रयासले विद्यालय नमूना बनाउन सफल भएका छौ, आगामी दिनमा पनि मेहनत गरेर राम्रो शिक्षा प्रदान गछौं ।’


कार्यक्रममा शैक्षिक सत्र ०७४ को बार्षिक परीक्षामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई स्टेसनरी तथा नगद पुरस्कार वितरण गरियो । कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुको साथै सर्वोत्कृष्ट विद्यार्थी बर्षबाट ल्हाप्साङ तामाङ र जुनी तामाङलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी विद्यालयमा राम्रो अध्यापन गराउने शिक्षकहरुलाई पनि नगद सहित प्रमाणपत्रबाट सम्मान गरिएको छ । सम्मानित हुने शिक्षकहरुमा पासाङ लामा, नेमा लामा, अशोक कुमार सिंह, सुन्दर श्याम महतो, राकेश लामा तामाङ, सुधा घिसिङ र सर्मिला थिङ रहेका छन् ।


डहु मावि डहुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खडक घिसिङले सुनापती गाउँपालिकालाई शैक्षिक क्षेत्रमा धेरै परिवर्तन गरेर लैजानु पर्ने आवश्यकता रहेको बताए ।

नेकपाका स्थानीय नेता विकास दोङ, कुशेश्वर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव चालिसे लगायतका आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रम विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्