अब नेतालाई विदेशमा उपचार गर्दा सरकारले खर्च नदिने



२८ भदौ, काठमाडौं ।  उपचारको नाममा राजनीतिक दलका नेताहरुले विदेशको अस्पतालमा उपचार गर्ने मोह बढेपछि अब राज्यले उपचार खर्च नब्यहोर्ने कानुन बनाएको छ । अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर उपचार गराएमा राज्यले खर्च नव्यहोर्ने गरी कानुन बनेको हो ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा थपेको हो ।

परिर्माजित विधेयक बिहीबार नै संसदमा पेश भएको छ । यो विधेयक बिहीबार नै पारित गर्ने तयारी छ । यसअघि सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा उपचार खर्चसम्बन्धी कुनै प्रावधान दिएन ।

समितिले एक कदम अगाडि बढेर ‘प्रचलित कानुनमा जे कुरा लेखिएको भएता पनि कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्नुपर्ने भएमा नेपाल सरकारले राज्यकोषबाट खर्च व्यहोर्ने छैन’ भनेर सर्वसम्मत रुपमा दफा २९ थप गरिएको छ ।

विधेयक पास भएपछि कानुनतः विदेशमा गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न पाउने छैन । ‘यो विधेयक पास भएपछि नेपाल बाहिर उपचार गर्ने हो भने अब व्यक्ति आफैंले खर्च गर्नुपर्नेछ । कानुन नहुँदा राज्य कोषबाट करोडौ रुपैयाँ नेताहरुको उपचारमा खर्च हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्