एउटै काम गरे १० हजार मेगावाट विद्युतः कुलमान घिसिङ



२८ भदौ, काठमाडौं । लोडसेडिङ हटाएर हटाउन सफल भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई धनी बनाउने योजना अगाडि सारेका छन् । उनले विद्युत महसुल नियमति समायोजन भएमा ठूला जलविद्युत आयोजनाको लगानी जुटाउन सकिने बताएका हुन् ।
राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा घिसिङले भने, ‘सबै वस्तु तथा सामाग्रीको भाउ बढे पनि विद्युत महसुल नियमित समायोजन हुन सकेको छैन, बिना बिरोध सबै वर्गका ग्राहकको महसुल समायोजन हुने हो भने प्राधिकरणले १० हजार मेगावाटका आयोजना निर्माण गर्ने लगानी उठाउन सक्छ ।’


मोबाइल टेलिफोनमा हुने खर्चको हिसाब नराख्ने ग्राहकले विद्युत महसुल वृद्धिको कुरा आउँदा बिरोध जनाउनु दुखद भएको बताउदै उनले अहिले प्रणालीमा उपलब्ध मध्ये ३० प्रतिशत विद्युत भारतबाट आयात भए पनि यसले जलाशय आयोजनाको काम गरेको उनले बताए ।
भारतबाट आउने विद्युत अत्याधिक माग हुने बिहान र साँझको समयमा मात्रै खपत हुने हो, पिक आवरमा आयात हुने विद्युतले सस्तो दरमा जलाशयको जस्तो काम गरेको छ, घिसिङले भने । आयातित विद्युतबाट माग र आपूर्ति व्यवस्थापन गरिए पनि यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
विद्युत आपूर्ति नियमित हुँदा प्राधिकरणले सर्वसाधारण उपभोक्ताबाट आर्थिक वर्ष २०७४÷०७५ मा ५५ अर्ब रुपैयाँ राजश्व संकलन भएको बताउदै घिसिङले उद्योग र र सर्वसाधारण उपभोक्ताले खपत गर्ने विद्युत महसुल समायोजन भएमा प्राधिकरणले गर्ने आम्दानी आयोजना विकासमा लगाउन सकिने बताए ।
आन्तरिक उत्पादन बढेपछि आयात क्रमशः घटाउँदै लगिने बताउदै उनले लोडसेडिङ अन्त्यपछि प्राधिकरणको ध्यान प्रसारण तथा वितरण प्रणाली सुधार गरी विद्युत सेवालाई गुणस्तरीय बनाउन केन्द्रित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्