दोरम्बा गाउँपालिकामा जनप्रतिनिधिको सक्रियताः पुल नभएपछि वैकल्पिक व्यवस्था



नारायण श्रेष्ठ

१ असोज, रामेछाप । बर्षाको कारण भत्किएको सडकको मर्मत गर्नको लागि दोरम्बा गाउँपालिकाले काम अगाडि बढाएको छ । बर्षाको कारण ठाउँ ठाउँमा सडक भत्किदा सवारी साधन सञ्चालन गर्न कठिनाई भएपछि गाउँपालिकाले सडक मर्मत गर्नको लागि काम अगाडि बढाएको हो ।


दोरम्बा गाउँपालिका जोडने चौरी खोलामा बर्षौ अघि पक्की पुल निर्माण कार्य सुरु भएपनि समयमा सम्पन्न हुन सकेको छैन् । जसको कारण दोरम्बा गाउँपालिकाका वडा नम्बर ६, ७, ५ र ३ का बासिन्दालाई काठमाडौं आवात जावत गर्न निकी सास्ती हुँदै आएको छ ।

गाउँपालिकाको पहल र गाउँपालिका–६ का वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेल ‘अनुप’को नेतृत्वमा सडकको मर्मतसँगै चौरी खोलामा सवारी सञ्चालन गर्न वैकल्पिक व्यवस्थापनको काम अगाडि बढेको छ । गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष गजुरेलले गाउँपालिकाको चार वटा वडाका नागरिकहरुलाई आवतजावत गर्न सास्ती भएपछि डोजर लगाएर चौरी खोलालाई फराकिलो बनाउने र सवारी साधन सञ्चालन गर्नको लागि सर्भे गरिएको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘निर्माणाधिन पक्की पुल निर्माण समयमा नै सम्पन्न नहुँदा निकै ठूलो दुःख र सास्ती बेर्होदै आएका छौ, पुल नहुँदा विकल्पमा खोलाको सतहलाई फराकिलो बनाएर अस्थायी रुपमा यातायात सञ्चालन गर्न जुटेका छौ ।’

चौरीखोला फराकिलो बनाएर गाडी सञ्चालन हुने व्यवस्था गरेपछि गाउँपालिकाको गुरासेसम्म सहज रुपमा यातायात सञ्चानल हुनेछ । खोलाबाटै यातायात सञ्चालन गर्न इनजीनियरको टोलीले सर्भे गरिसकेकाले केही दिनभित्र नै काम सम्पन्न हुने वडा अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाभित्र बर्षाको कारण भत्किएको सडकको मर्मतको लागि बजेट बिनियोजन गरेर काम अगाडि बढाइएको बताउनुभयो । उहाँले नागरिकहरुलाई सहज रुपमा यातायात उपभोग गर्न पाउने गरी पालिकाले काम अगाडि बढाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्