राकाथुममा बाल दिवस मनाइयाे, सबैको जोड गुणस्तरीय शिक्षा 



२ असोज, रामेछाप ।

खाँडादेवी गाउँपालिका–१ राकाथुममा राष्ट्रिय वाल दिवस सम्पन्न भएको छ । खुसी नेपाली समृद्धि नेपाल, बालअधिकार सबैको सरोकार भन्ने मूल नाराको साथ राकाथुमको मावि राकाथुमा वाल दिवस मनाइएको हो । कार्यक्रममा सहभागी वक्ताहरुले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएको बताउदै शिक्षामा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् ।


कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खडकाले खाँडादेवी गाउँपालिकालाई समृद्ध बनाउन शिक्षा क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न गाउँपालिकाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बालबालिका भविष्यको कर्णाधार भएकाले बालपनदेखि नै बालबालिकाहरुको हक अधिकारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘शिक्षा क्षेत्रको सुधारले मात्र समृद्धि नेपाल निर्माण गर्न सम्भव छ ।’ बालबालिकाको शिक्षामा लगानी गर्न सकेको अवस्थामा मात्र आगामी दिनमा दक्ष जनशक्ति उत्पादन गर्न सहज हुने प्रजिअ शर्माले बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवशकंर पोडेलले राकाथुमको रुपान्तरणको लागि शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने बताउदै विगतको तुलनामा राकाथुमको विकासले गति लिएको बताउनुभयो ।


पूर्व सभासद एवं नेकपाका नेता डिल्लीमान तामाङले योजनाबद्ध रुपमा गरिने कामले मात्र समाज रुपान्तरणले गति लिने बताउनुभयो । त्यसैगरी उक्त कार्यक्रममा पूर्वसभासद एवं नेकपाका नेता तारानारायण श्रेष्ठले शैक्षिक क्षेत्रको विकास गर्नुपर्ने बताउदै गाउँपालिकाले अगाडि सारेको नीति तथा कार्यक्रालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै गाउँपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्नको लागि पालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरेर अगाडि बढेको बताउदै भन्नुभयो,‘समृद्ध गाउँपालिकाको आधार शिक्षा नै हो, हामीले शिक्षा क्षेत्रमा परिवर्तन गर्नको लागि काम गरिरहेका छौ ।’


खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले तीन सह अन्तर्गत आफूहरुले वडामा कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो । उहाँले तीन स अर्थात सडक, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा लागि रहेको बताउदै वडामा अहिले सहज रुपमा स्वास्थ्य सेवा, सडकको उपभोग र शैक्षिक क्षेत्रमा पठनपाठन सहित भौतिक पूर्वाधार निर्माणमा समेत जोड दिएको बताउनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार लामाको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको सहकार्यले मात्र शिक्षा क्षेत्रमा परिवर्तन गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्