बिपी राजमार्गमा मापदण्ड विपरीतको घरटहरा भत्काइदै



३ असोज, काभ्रे । बिपी राजमार्गमा अवैध रुपमा निर्माण गरिएका मापदण्ड विपरीतका घरटहरा भत्काउने काम सुरु गरिएको छ । काभ्रेको धुलिखेल नगरपालिकाअन्तर्गत ७, ८, ९ र ११ बिपी राजमार्गअन्तर्गत पर्ने सडक दायाँबायाँ मापदण्डभित्र परेका ५५ वटा घरटहराहरू भत्काएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले भत्काएको छ ।

बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल सडकखण्ड ४ अन्तर्गतका दायाँबायाँ १५ १५ मिटरभित्रका घर, टहरा तथा होर्डिङ बोर्डहरू सोमबारबाट भत्काउन सुरु गरिएको हो।

सूर्यविनायक–धुलिखेल,–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको अगुवाई र जिल्ला प्रहरी कार्यालयको सहयोगमा धुलिखेल नगरपालिका–७ हस्पिटल चोकबाट सडक अतिक्रमण गरी बनाएका टहरा तथा संरचनाहरू भत्काउन थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । हस्पिटल चोकबाट सो नगरपालिकाको वडा ११ पात्लेखेतसम्म गरी ५५ वटा घर तथा टहराहरू, होडिङ बोर्ड ६५ वटा र शौचालय १८ वटा भत्काइएको उहाँले जानकारी दिनुभयो ।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका निमित्त आयोजना प्रमुख राकेश महर्जनले काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सिमानासम्म तोकिएको मापदण्डभित्रका घर टहरा तथा संरचनाहरू सबै हटाउने बताउनुभयो । राजमार्गअन्तर्गत पर्ने धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको गरी ४८६ घर तथा टहराहरू भत्काउनु पर्ने सडक आयोजनाले जनाएको छ।
महर्जनले त्यसको लागि सम्बन्धित वडा अध्यक्षहरूलाई सम्पूर्ण जानकारी पठाईसकेको र उनीहरूले सम्बन्धित घररटहरा धनीलाई जानकारी गराएर सो कार्य सुरु गरेको बताउनुभयो ।
आयोजनाले यस अघि नै मापदण्ड विपरीतको घरटहरा हटाउनको लागि सूचना जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्