दोरम्बा गाउँपालिकाले मनायो संविधान दिवस



३ असोज, रामेछाप ।
दोरम्बा गाउँपालिकाले संविधान दिवस मनाएको छ । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य देवशकंर पौडेलले ठूलो वलिदानबाट प्राप्त संविधान असफल पार्ने शक्तिलाई परास्त गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाली जनताको त्याग र वलिदानबाट संविधान प्राप्त भएको बताउदै सफल कार्यान्वय गरेर समृद्धिको सपना साकार पार्नुपर्ने बताउनुभएको हो । ‘संविधान कार्यान्वयन गर्न एउटा शक्ति लागेको छ, अर्को शक्ति भने कसरी असफल बनाउन सकिन्छ भनेर लागेका छन’, नेता पौडेलले भन्नुभयो,‘संविधान कार्यान्वयन गर्न सबै दत्तचित भएर लाग्नु पर्छ ।’


संविधान दिवसको अवसरमा दोरम्बा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा पूर्व सभासद डिल्लीमान तामाङले जनयुद्ध र जनआन्दोलनको बलबाट प्राप्त भएको संविधान संस्थागत हुने क्रममा रहेको बताउनुभयो ।
कार्यक्रममा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै संविधानमा व्यवस्था भए बमोजिम स्थानीय तहसम्म प्रत्यक्ष अनुभूति गरी कार्यान्वयन गर्ने काममा लागेको बताउनुभयो । उहाँले गाउँपालिकाले आवश्यक कानुन निर्माण गरिसकेको र केही कानुन बन्ने क्रममा रहेको पनि उहाँले बताउनुभयो । उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले संविधानमा भएको व्यवस्थालाई स्थानीय सरकारले प्रतिबद्ध भएर कार्यान्वयन गर्ने क्रममा रहेको बताउनुभयो ।


गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहेका गाउँपालिकाका प्रवक्ता अम्बिकाप्रसाद गजुरेल, वडा नम्बर ७ का वडा अध्यक्ष रेम थापा, वडा नम्बर ५ का वडा अध्यक्ष गंगाबहादुर तामाङ लगायतका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्य, राजनीतिक दलका नेता र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्