आलुले भाउ नपाएपछि गौश्वराका किसान चिन्तित



नारायण श्रेष्ठ
५ असोज, रामेछाप । दोरम्बा गाउँपालिका–४ गौश्वराका किसान आलुको उचित मुल्य नपाउदा चिन्तित भएका छन् । मुख्य पेशाको रुपमा आलु खेती गर्दै आएका किसानहरुले बजार अनुसारको उचित मुल्य नपाउदा निराश बनेका छन् । बजारमा १ सय ४० विक्री भइरहेको आलु गौश्वराका किसानले भने ५० रुपैयाँमा नै विक्री गर्न बाँध्य भएका छन् । स्थानीय दानबहादुर थापामगरले बर्षभरी दुःख गरेर आलु उत्पादन गरेपनि बजार अनुसारको मुल्य नपाएको गुनासो गर्नुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सबै काम छोडेर आलु खेतीमा लागियो, आलु पनि रोम्रो उत्पादन भयो तर बेच्ने बेलामा मुल्य नै पाइएन ।’

मुडेको आलु भनेर प्रख्यात छ । स्वादिलो र गुणस्तीय भएको कारण मुडेको आलुप्रति उपभोक्ताहरुको आकर्षण छ । तर मुडेको नामबाट विक्रिवितरण हुने आलु भने रामेछापको दोरम्बा गाउँपालिकाभित्र उत्पादन हुन्छ । रामेछापमा उत्पादन हुने गरेपनि मुडेकै आलु भनेर विक्री हुँदै आएको छ । दोरम्बा गाउँपालिका अन्तर्गत विशेषगरी गौश्वरामा बढी उत्पादन हुन्छ । सैलुङको काखमा रहेको गौश्वरामा विगत लामो समयदेखि किसानहरु आलु खेती गर्दै आएका छन् ।
स्थानीय किसान गोपी थापामगरले गौश्वरामा आलु उत्पादन राम्रो हुने गरेपनि बर्षाको समयमा उत्पादन हुने भएकाले विक्रिवितरणमा समस्या हुने गरेको बताउनुभयो । उहाँले परम्परागत रुपमा खेती गरेर पनि यहाँका किसानले राम्रो आलो उत्पादन गरेको बताउदै समयमा नै बजारसम्म लैजान नसक्दा सस्तो मुल्यमा नै व्यापारीहरुलाई विक्री गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।


गौश्वसरामा प्रविधि अनुसार अझै पनि खेती हुने गरेको छैन् । हावा पानी राम्रो मलिलो माटो, वस्तुभाउको मल प्रयोग हुने भएकाले यहाँको आलु स्वास्थ्यलाई कुनै असर नपर्ने किसानहरुले दावी गरेका छन् । स्थानीय कृषक ठकरबहादुर थापामगरले अन्यन्त्र रसायनिक मलको अत्याधिक प्रयोग भएको सुनिएता पनि गौश्वरामा भने घरमा नै उत्पादन हुने बस्तु भाउको मल प्रयोग गरेरै आलु उत्पादन हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘माग राम्रो छ, उत्पादन पनि हुन्छ, बर्षामा समयमा सडक अवरुद्ध हुँदा नियमित गाडी चल्दैन, जसको कारण बजार अनुसारको हामीले मुल्य पाउन सकेका छैनौ ।’

दोरम्बा गाउँपालिकाले गौश्वरालाई आलु पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सारेको छ । तर किसानहरुले उत्पादन गरेको आलुले भने उचित बजार मुल्य पाउन सकेको छैन् । किसानहरुले विगतदेखि नै गौश्वारामा आलु कोल्डस्टोर बनाउनु माग गर्दै आए पनि निर्माणको प्रक्रिया अगाडि बढन सकेको छैन् ।
दोरम्बा गाउँपालिका–४ गौश्वराका वडा अध्यक्ष चन्द्र बहादुर मगर (टलक)ले किसानहरुले उत्पादन गरेको आलुले उचित बजार मुल्य पाउन नसक्दा आफू पनि दुखित रहेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘किसानहरुले बजार अनुसारको मुल्य पाउनु पर्छ, अवरुद्ध सडक सञ्चालनको लागि पहल गरेको छु, आलु कोल्डस्टोर बनाउन गाउँपालिकाले योजना नै बनाएको छ ।’ उहाँका अनुसार गौश्वराबाट बार्षिक करिब २ करोड भन्दा बढीको आलु निर्यात हुने गरेको छ ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले किसानहरुको गुनासो सम्बोधन गर्नको लागि गौश्वरामा आलु कोल्ड स्टोर निर्माण गर्ने योजना अगाडि बढाइएको बताउनुभयो । उहाँले प्रदेश सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेर कोल्ड स्टोर निर्माण गर्ने बताउदै आगामी दिनमा दिनमा किसानहरुले उचित बजार मुल्य पाउने बताउनुभयो । बर्षाको समयमा उत्पादन हुने आलु गाउँमा नै कोल्ड स्टोरमा राख्न सकेको अवस्थामा दोब्बर मुल्य पाउने आशा किसानले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्