मालश्री ट्रष्टद्धारा विद्यार्थीलाई सम्मान



६ असोज, रामेछाप । मालश्री काफ्ले मेमोरियल ट्रष्ट, काठमाडौँले मन्थली नपा २ सालु रामेछापमा संचालित सेतीदेवी उच्च माध्यमिक विधालयमा अध्ययनरत विधार्थीहरुलाई मालश्री छात्रवृत्ति, मालश्री अवार्ड तथा एसइइ उत्तीर्ण विधार्थीहरुलाई अभिनन्दन गरेको छ ।
कार्यक्रममा २०७४ को एसइइमा उत्कृष्ट अंक ल्याउने छात्र प्रकाश श्रेष्ठलार्ई ११ हजारको नगद र पदक सहित मालश्री अवार्ड प्रदान गरिएको थियो भने अन्य उत्तीर्ण ३९ जना विधार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

सोही विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का २० जना विधार्थीहरुलाई ५ हजारका दरले छात्रवृत्ती रकम प्रदान गरिएको थियो । उक्त विद्यालयमा हाल २०० जना विधार्थीहरु अध्ययनरत छन् ।


कार्यक्रममा ट्रष्टकी अध्यक्ष श्रीमती निलीमा काफ्लेले विधार्थीहरुलाई केही हदसम्म भएपनि अध्ययनमा उत्साह जगाउने उदेश्यले विगत ४ बर्ष यस खाले कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा उहाँले विधालयका विद्यार्थी तथा शिक्षकहरुलाई सुख शान्ती र समृद्धि प्राप्तिको लागि सूर्य नमस्कार प्राणायम र सकारात्मक उर्जा बद्धि गर्ने ज्ञान बारे अवगत गराउनुभएको थियो ।


ट्रष्टका सदस्य तथा मिर्गौला बचाऔँ अभिायानका संस्थापक अभियन्ता डा.ऋषि कुमार काफ्लेले उपस्थित विधार्थी शिक्षक तथा अन्य व्यक्तिहरुलाई मिर्गौला बचाउने तरिका, खानपान र मिर्गौला रोग बारे जानकारी गराउनु भएको थियो । निकट भविष्यमा सालु, ढुंगेछापमा जनरल स्वास्थ्य क्लिनीक संचालन गरि मिर्गौला जाँचको व्यवस्था गर्ने पनि उहाँले जानकारी गराउनु भयो ।


रामेछापको सालुमा जन्मी ५ कक्षा सम्म सोही स्कुलमा पढ्नुभएका नेपालका बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेको छोरी मालश्री काफ्लेको सम्झनामा खोलिएको ट्रष्टले रामेछापका विभिन्न स्कुलमा जेहेन्दार विधार्थीहरुलाई छात्रवृत्ति रकम, रामेछाप बजार तथा गोठगाउँमा एम्बुलेन्स वितरण, नेपालका विभिन्न ठाउँहरुमा निशुल्क स्वास्थ्य कार्यक्रम तथा बालबच्चा तथा बृद्धबृद्धालाई निशुल्क भोजन संचालन गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्