दशैंको मुखमा जनतालाई मारः १० प्रतिशतले बढयो गाडीको भाडा



७ असोज, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाएको हो । केही दिन अघि मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।दशैंको मुखमा यातायात व्यवसायीले अडान राखेर गाडी नै नचलाउनेसम्मको चेतावनी दिएपछि अन्ततः जनतालाई मर्का पर्ने गरी सरकारले भाडा बृद्धि गरेको छ ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिइसकेको छ ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।
सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्