रामेछाप नगरपालिकाभित्र धमाधम सडक बनाइदै



राजन महतारा क्षेत्री
८ असोज, रामेछाप । रामेछाप नगरपालिकाले बर्षाको कारण खाल्डाखुल्डी भएको सडक मर्मत गर्ने काम अगाडि बढाएको छ । नगरपालिकाभित्रका मुख्य सडकहरुको खाल्डाखुल्डी पुर्न सुरु गरेको हो । सडकमा खाल्डा खुल्डी हुँदा यातायात सञ्चालन गर्न कठिनाई भएपछि दशै अगाडि नै मुख्य सडक मर्मत गर्ने काम अगाडि बढाएको रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले बताउनुभयो ।


दशैँ नजिकिएसँगै सवारी आवागमनमा सहजहोस भनेर नगरपालिका भित्रका मुख्य सडकहरु मर्मत गर्न लागिएको उहाँले जानकारी दिनुभयो । अहिले रामेछाप सेलेघाट सडक मर्मत भइरहेको छ । रामेछाप नगरपालिकाको आफनै स्काइभेटर प्रयोग गरी सडक मर्मत गर्न लागिएको हो ।


दशैँको अवसरमा मुख्य सडकहरु मर्मत भइसकेपछि आगामी दिनमा अरु सहायक सडकहरु पनि मर्मत गरिने नगरप्रमुख थापा मगरले बताउनुभयो । सडकमा खाल्डा खुल्डी हुदाँ दुर्घटनाको सम्भावना बढेको भन्दै नगरपालिकाले स्थानीयको आग्रहमा मर्मतको काम सुरु गरेको हो ।

सडकको नाजुक अवस्थाका कारण सवारी साधन चलाउन तथा हिड्न समेत समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् । गत बर्ष रामेछाप नगरपालिकाभित्रको सडक निर्माण गर्नको लागि ६ करोड बजेट विनयोजन गरेको थियो । नगरपालिकाको अनुसार यस आर्थिक बर्षको लागि पनि करिब ६ करोड रुपैयाँ सडक निर्माणको लागि बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्