दोरम्बा ऐतिहासिक धार्मिक र प्राकृतिक पर्यटकीय गन्तव्य होः सांसद श्रेष्ठ

१० असोज, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले दोरम्बा गाउँपालिकाको दोरम्बालाई पर्यटन गन्तव्यको गाउँ छनोट गर्नु निकै सुखद विषय भएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘दोरम्बा ऐतिहासिक, धार्मिक, प्राकृतिक र सांस्कृति रुपमा निकै धनी छ, पर्यटकहरुको लागि आर्कषक गन्तव्य हो ।’


दोरम्बाको विकास गर्न रणनीतिक खालको योजना र सोच बनाएको बताउदै सांसद श्रेष्ठले पर्यटन गाउँ घोषणा गर्ने निर्णयले निकै उत्साहित भएको बताउनुभयो । ‘दोरम्बा राष्ट्रिय अन्तर्राष्ट्रिस्तरमा चर्चित ठाउँ हो, दोरम्बालाई युद्ध पर्यटनको रुपमा विकास गरेर लैजानु पर्छ ।’
प्राकृतिक दृष्यावलोकनको दृष्टिकोणले निकै रमणियस्थल दोरम्बामा भौतिक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउनु पर्नेमा जोड दिदै स्थनीय सरकारले अगाडि सारेको योजनामा आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । दोरम्बा गाउँपालिकाजस्तै रामेछापका सबै स्थानीय सरकारले गाउँपालिकाभित्र भएको पर्यटकीय गन्तव्यलाई चिनाउनको लागि योजना बनाएर अगाडि बढनु पर्ने बताउदै त्यसमा आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।

नेकपाले पनि दोरम्बालाई विशेष महत्वको साथ हेर्दै युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लैजाने योजना अगाडि सारेको छ । दोरम्बामा विशेषगरी अग्लेश्वरी महादेव मन्दिर,तालाच्यु गढी, दोरम्बाको डाँडाकटेरी, शान्ति पार्क, तामाङ र थामी जातिको संस्कृतिको कारण आर्कषण गन्तव्यको रुपमा चिनिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्