‘दोरम्बा पर्यटन गन्तव्य गाउँ’ घोषित, मन्त्री अधिकारीले दिए वडा अध्यक्ष श्रेष्ठलाई प्रमाणपत्र (फोटोफिचर)



स्नेहा सिल्वाल
११ असोज, काठमाडौंं । रामेछाप जिल्लामा पहिलो पटक दोरम्बा गाउँपालिका–२ दोरम्बालाई ‘पर्यटन गन्तव्य गाउँ’ घोषणा गरिएको छ । ३९ औ विश्व पर्यटन दिवसको अवसरमा पर्यटन बोर्डमा आयोजित कार्यक्रममा दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गरिएको हो । पर्यटन मन्त्रालयले दोरम्बा सहित लमजुङ र मुगुको गरी तीन वटा गाउँलाई यस बर्ष गाउँ पर्यटन गाउँको रुपमा घोषणा गरेको छ ।


कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले नयाँ गाउँ गन्तव्य ‘दोरम्बा गाउँ’को प्रमाणपत्र दोरम्बा गाउँपालिकाका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
प्रमाणपत्र हस्तान्तरण गर्दै मन्त्री अधिकारीले दोरम्बालाई पर्यटकीय पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले देश विकासको मुख्य आधार पर्यटन भएको बताउदैँ गाउँ पर्यटनको थप खोजी गरेर विकास गरिने बताउनुभयो ।

गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ)ले हरेक बर्ष पर्यटन दिवसको अवसरमा नयाँ नयाँ गाउँ पर्यटनको खोजी गरेर पर्यटन बोर्डलाई सिफारिस गर्ने गरेको छ । पर्यटन बोर्डको सिफारिसको आधारमा पर्यटन मन्त्रालय नयाँ गन्तव्यलाई गाउँ पर्यटनको रुपमा घोषणा गर्दै आएको छ ।

 

दोरम्बा गाउँलाई पर्यटन गन्तव्य गाउँमा घोषण गरेपछि दोरम्बावासीमा खुसीयाली छाएको छ । दोरम्बावासीले विगत लामो समयदेखि नै पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने माग राख्दै आएपछि जनप्रतिनिधहरुको सक्रियता पर्यटन गन्तव्य गाउँ घोषणा भएको हो । दोरम्बावासीको पनि गाउँलाई पर्यटन गन्तव्यको रुपमा घोषणा गराउने कार्यमा निकै ठूला भूमिका निर्वाह गरेका थिए ।
दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गर्नु निकै सुखद विषय भएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताउनुभयो । उहाँले भन्नुभयो,‘यहाँका जनताले धेरै अगाडिदेखि नै पर्यटकीय गन्तव्यमा घोषणा भएको हेर्न चाहेका थिए, ढिलै भएपनि घोषणा भयो, हामी निकै खुसी छौ ।’

आगामी दिनमा पुर्वाधार निर्माणमा गाउँपालिकाले योजना बनाएर नै काम गर्ने बताउनुभयो । दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गर्ने कार्यमा भूमिका खेल्ने भिटोफ, पर्यटन बोर्ड र पर्यटन मन्त्रालाई दोरम्बा गाउँपालिको तर्फबाट उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।


दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले दोरम्बाको प्राकृतिक सुन्दरता, ऐतिहासिक धार्मिक र सांस्कृतिक रुपमा धनी रहेको बताउनुभयो । उहाँले दोरम्बा हुँदै सैलुङसम्मको पर्यटन विकासमा पर्यटन गन्तव्य गाउँ घोषणाले थप टेवा पुगेको बताउनुभयो । उपाध्यक्ष घिसिङले पर्यटन गाउँ घोषणा भएको दोरम्बाको विकास गर्न गाउँपालिकाले विशेष योजना बनाएर नै काम गर्ने बताउनुभयो ।
गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) का महासचिव जस्फा पाण्डेले दोरम्बा सहित देशका तीन वटा गाउँलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा घोषित नयाँ गन्तव्यमा पूर्वधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।


दोरम्बा गाउँपालिका–२ दोरम्बा वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठले पर्यटकी क्षेत्रको सम्भावना भएको दोरम्बालाई पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरिने निकै ठूलो खुसीको विषय भएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘दोरम्बा पर्यटन गन्तव्य गाउँ घोषणा भएको छ, पर्यटक गन्तव्यको लागि पूर्वाधार विकासमा जुटछौ, पर्यटन गन्तव्य गाउँ घोषणा गर्न भूमिका निर्वाह गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद दिन्छु ।’


यस कारण चर्चित छ दोरम्बा
दोरम्बा ऐतिहासिक धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा चर्चित छ । जनयुद्धको समयमा २०६० साल श्रावण ३२ गते तत्कालिन सरकारले बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन नेकपा माओवादीका २१ नेता तथा कार्यकर्ताको सामुहिक हत्या गरेको थियो । उक्त घटनाबाट दोरम्बा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चामा आएको थियो । केही समय अघि मात्र दोरम्बा पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’दोरम्बामा आयोजित कार्यक्रममा दोरम्बालाई पर्यटकीय क्षेत्र बनाउनको लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
पाँच कारणले आर्कषणको केन्द दोरम्बा


दोरम्बाको आफ्नै पहिचान र मौलिकता छ । सैलुङको काखमा रहेको दोरम्बा प्राकृतिक रुपमा निकै सुन्दर र मनमोह छ । दोरम्बामा चिटिक्क परेका वस्ती, धर्म संस्कृति रितिरिवाज, रहनसहन लगायतको कारण पर्यटकको आर्कषण गन्तव्यको रुपमा विगतदेखि नै चिनिदै आएको छ । दोरम्बामा यस अघि देखि नै होमस्टेको सेवा सञ्चालन हुँदै आएको थियो । दोरम्बामा विशेषगरी अग्लेश्वरी महादेव मन्दिर,तालाच्यु गढी, दोरम्बाको डाँडाकटेरी, शान्ति पार्क, तामाङ र थामी जातिको संस्कृतिको कारण आर्कषण गन्तव्यको रुपमा चिनिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्