भुकम्पपछिको पुनर्निर्माणः रामेछापमा २३ हजार ७ सय घर बन्यो



१२ असोज, काठमाडौं ।  भूकम्पपछि पुनर्निर्माण कार्य सुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार यसमा बाँकी २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेका छन् ।
कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको संख्या करिब साढे तीन लाख पुगेको प्राधिकरणको अनुमान छ । साथै, दसैंतिहारपछि पुनर्निर्माण भइरहेका घरहरुको निर्माण सम्पन्न हुने र सुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणको अपेक्षा छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय तहमा पठाइने वरिष्ठ इन्जिनियर सहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरहरुको पुनर्निर्माण छिटो सम्पन्न गर्न सहयोग पुग्ने बताउनुभयो ।
‘अभियानका रुपमा निजी आवास पुनर्निर्माणलाई अघि बढाउन लाभग्राही, स्थानीय तह, राजनीतिक दलदेखि सबैको सहयोग जरुरी छ’, उहाँले भन्नुभयो ।
भूकम्पबाट घर क्षति भएकामध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या ७ लाख २३ हजार ७ सय २८ छ । त्यसमध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ५ लाख ३ हजार ३६ पुगेको छ । २ लाख ६६ हजार ९ सय ४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् ।
गुनसो सम्बोधनपछि कुल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख १० हजार ६ सय ९० पुगेको छ । त्यस्तै, प्रवलीकरणको सूचीमा परेका लाभग्राहीको संख्या ६१ हजार ८ सय ९१ पुगेको छ ।

जिल्लागत रुपमा पुननिर्माण सम्पन्न भएका घरको संख्याः
सिन्धुपाल्चोक – ४९,५४०
दोलखा – ४४,४६१
गोरखा – ३६,४९०
धादिङ – ३५,६६१
नुवाकोट – २८,१५०
रामेछाप – २३,७३४
काभ्रेपलाञ्चोक – २०,७५२
सिन्धुली – ११,११०
ओखलढुङ्गा – १०,७८७
ललितपुर – ३,४५५
भक्तपुर – ५,५३०
काठमाडौं – ७,४३८
रसुवा – ८,५९१
मकवानपुर – ८,३४६
खोटाङ – १,१९१
सोलुखुम्बु – ४३०
स्याङ्जा – ५२०
गुल्मी – ३१५
अर्घाखाँची – १६
लमजुङ – ७

१ खर्ब ४८ अर्ब अनुदान वितरण
भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणमा गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५१८ रुपैयाँ वितरण भएको छ । यसमध्ये १४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार ४ सय ५१ आर्थिक वर्ष २०७२÷७३ मा वितरण भएको थियो भने आर्थिक वर्ष २०७३÷७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २ सय ५८ वितरण भएको थियो । त्यसैगरी, २०७४÷७५ मा ८८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८ सय ९ रुपैयाँ बराबरको आवास अनुदान वितरण भयो ।
चालु आर्थिक वर्षका लागि पुनर्निर्माण प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये हालसम्म करिब १० अर्ब रुपैयाँ वितरण भइसकेको छ ।
नेपाल सरकारले बजेट कार्यक्रममार्फत् यस आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

गुनासो फस्र्यौटबाट थपिंदै लाभग्राही
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत सङ्कलित तथ्याङ्क विश्लेषण गरी १ लाख १८ हजार ७ सय ८० गुनासोको सुनुवाइ गरी नतिजा सार्वजनिक गरेको छ । भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार यसबाट ४२ हजार ४ सय २२ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही सूचीमा परेका छन् ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार ३५ हजार ५ सय ५ घरधुरी प्रवलीकरण लाभग्राहीमा समावेश भएका छन् भने २८ हजार ५ सय ७४ गुनासोकर्ता लाभग्राही हुन अयोग्य देखिएका छन् ।
‘बाँकी गुनासोकर्ताको बारेमा थप पुष्टिका लागि स्थानीय तहमा पठाइएको छ । छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत बाँकी गुनासोको प्राधिकरणका प्राविधिकहरूद्वारा अध्ययन भइरहेको छ’, घिमिरले भन्नुभयो ।
प्राधिकरणले गत वर्ष स्थलगत रुपमा प्राविधिक इन्जिनियर परिचालन गरी छुट तथा पुनःजाँच सर्वेक्षणमार्फत १ लाख २९ हजार ४ सय ८ गुनासो संकलन गरेको थियो ।
त्यसैगरी, प्राधिकरणले प्रभावित १६ जिल्लाका २ सय ६३ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही र १३ सय ९५ गुनासोकर्तालाई प्रवलीकरण लाभग्राही कायम गरेको छ । त्यसैगरी, ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० जनाको अर्को स्थानमा बस्नयोग्य घर भए÷नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय पनि गरेको छ ।

अनुदान लिन नयाँ समयसीमा
भदौ २१ गते बसेको प्राधिकरण निर्देशक समितिको निजी घरधनी लाभग्राहीले अनुदानको किस्ता लिइसक्नुपर्ने समयसीमा तय गरेको छ । अब २०७५ असार मसान्तसम्म पहिलो किस्ता प्राप्त गरिसकेका लाभग्राहीले २०७५ पौष मसान्तभित्र दोस्रो र २०७६ वैशाख मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।
त्यसैगरी, गुनासो सम्बोधनलगायतबाट हालसम्म पहिचान भएका सबै लाभग्राहीहरुसँग अनुदान सम्झौता सम्पन्न गरी प्रथम किस्ता प्राप्त गर्ने समयसीमा २०७५ कार्तिक मसान्त तोकिएको छ । यस्ता लाभग्राहीले २०७५ माघ मसान्तभित्र दोस्रो किस्ता लिनुपर्नेछ भने २०७६ जेठ मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्नेछ ।
तथापि, आगामी दिनमा गुनासो सुनुवाईबाट लाभग्राही सूचीमा परेका एवं पुनःसर्भेक्षण, जोखिम वर्ग, परम्परागत वस्ती, एवं वस्ती स्थानान्तरणबाट आउने लाभग्राहीहरुका लागि अनुदान किस्ता प्राप्त गर्ने समयावधि कार्यकारी समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
प्राधिकरणले सरकारद्वारा बजेट कार्यक्रममार्फत् निर्धारण गरेको लक्ष्यअनुसार लचिलो समयसीमा निर्धारण गरेको छ । पहिलो किस्ता लिएर पनि घर निर्माण सुरु गर्न बाँकी भएका लाभग्राहीले घर निर्माण शीघ्र सुरु गर्न आवश्यक देखिन्छ । यसअघि समयसीमा संशोधन हुने गरेको भए पनि अब त्यसो गर्न निकै कठीन हुने भएकोले बाँकी सबै लाभग्राहीलाई घर निर्माण थाल्न प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्