जनप्रतिनिधिलाई ठेकेदारकाे जनप्रतिनिधि नबन्न मुख्यमन्त्री पौडेलको कडा निर्देशन



१६ असोज, हेटौडा ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश कानूनअनुसार नदीजन्य ढुङ्गा, गिट्टी र बालुवा उत्खनन एवं निकासी गर्न निर्देशन दिनुभएको छ ।
उहाँले स्थानीय तहका पदाधिकारीले प्रदेशको ऐन कानूनको अधीनमा रही आफ्नो अधिकार प्रयोग गर्न निर्देश गर्नुभएको हो । हामी जनताका प्रतिनिधि हौं, ठेकेदार होइनौ । आफै नीति बनाउने र आफै व्यवसाय गर्ने हो भने जनताले दिएको मतको अवमूल्यन हुन्छ, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा नदीजन्य पदार्थको सङ्कलन तथा व्यवस्थापनसम्बन्धी जिल्ला समन्वय परिषद्का प्रमुख, उपनगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुखसँगको अन्तरक्रियामा मंगलवार उहाँले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले अब सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तहमा जाने विकासको अनुदान रोक्का हुन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उहाँले त्यसको जिम्मेवारी जनप्रतिनिधि नै हुनुपर्नेछ भन्नुभयो ।

उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालले केन्द्रीय सरकारको मातहतमा रहेको नदीजन्य ढुङ्गा, बालुवा, गिट्टीको उत्खनन ओसार पसार गर्ने अधिकारलाई अब प्रदेशस्तरबाटै लिने गरी कार्यविधि बनाउन लागिएको जानकारी दिनुभयो ।
प्रदेशअन्तर्गत रहेका १३ जिल्ला समन्वय परिषद्, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका गरी ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्