तीन वर्षमा सरकारले वाह ! भन्ने काम गरेर देखाउछः कृषिमन्त्री खनाल



असोज १७ सिन्धुली । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सरकारले स्थानीय किसानको समस्या समाधान गर्न लागि परेको बताएका छन् । नेकपा सिन्धुलीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले सिन्धुलीको स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा पुर्याउन सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका रुपमा जुनारका लागि सुपरजोन क्षेत्र तोकेको बताए ।


कार्यकर्तासँगको अन्र्तक्रियामा उनले आफूले कृषि क्षेत्रको विकासका लागि ठोस योजनाका साथ काम गर्ने उल्लेख गरे । नेकपा माओबादीका स्थायी समिति सदस्य समेत रहेका खनालले पार्टीमा देखिएका केही अन्तरविरोध देखिएपछि त्यसबाट कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको बताए । उनले अहिले देश नयाँ संघीय संरचनामा गएकाले प्रदेश र स्थानीय सरकारले गर्ने काममा केही अन्योलता देखिएपनि त्यस्को समाधानका लागि मन्त्रिपरिषदमा निरन्तर छलफल भइरहेको उल्लेख गरे ।
पाँच बर्षका लागि आएको स्थायी सरकारबाट जनताले केही बढी अपेक्षा राखेकाले पहिलो बर्षमा नै केही अन्योलताले निराश हुने स्थिति आए जस्तो देखिए पनि नआत्तिन कार्यकर्ता तथा नागरिकलाई आग्रह गरे । अहिले केन्द्रमा पार्टी एकता भइसकेको र तल्लो तहमा पनि एकता छिट्टै हुने उनको भनाई थियो ।
सरकारले शुरुवातमा राम्रो काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो । तर अहिलेको सरकारले राम्रा कामको जग बसाल्दै गरेको भन्दै प्रधानमन्त्रीले भने जस्तै तीन वर्षमा वाह भन्ने काम गरेर देखाउने उनको दावी थियो । ‘पहिलो वर्षमा राम्रो काम भएन भनेर नआत्तिनुस्, कार्ययोजना बनाउनुस् र दोस्रो वर्षमा कार्यान्यनमा ल्याउनुस्, तेस्रो वर्षमा वाह वाह भन्ने गरी काम गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ, उनले भने ।
कृषि क्षेत्रको विकास लागि आफूले केही राम्रा योजना तथा कार्यक्रमहरु सुरु गरेको उनले बताए । विगतमा कांग्रेस नेतृत्वको सरकारले झन्डै ८ खर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरी दायित्व तिर्नुपर्ने भार थपेकाले अहिलेको सरकारले ऋण तिरिरहेको उनको भनाई थियो । मन्त्री खनालले पहिले अस्थिर सरकारलाई जस्तो आलोचना गर्ने अवस्था अहिले नरहेको भन्दै अधिकतम उत्पादनमा जोड दिन आग्रह गरे ।
पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले आपूmले किसानका पक्षमा केही राम्रा कार्यक्रम ल्याएपनि त्यस्को कार्यान्वयन हुन नसकेको बताए । उनले किसान पेन्सन, प्रधानमन्त्री आधुनिकीकरण लगायतका कार्यक्रमहरु आपूmले अघि सारेको बताए । उनले अहिलेको स्थायी सरकारले पनि किसानमूखी कार्यक्रम ल्याएकाले त्यस्को कार्यान्वयनमा जोड दिनुपर्ने बताए । गजुरेलले कृषि, पर्यटन र उर्जाका माध्यमबाट देशको आर्थिक समृद्धि र विकास सम्भव रहेको बताए ।
सो कार्यक्रममा कार्यकर्ताहरुले पनि जिल्लामा देखिएको समस्या, सम्भावना र सरकारले केही क्षेत्रमा सहयोग गर्नुपर्ने बारेमा सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्