अपडेटः भक्तपुरमा टिपरले ज्यान मारेर फरार चालक पक्राऊ



१८ असोज, भक्तपुर ।  भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका टिपर चालक प्रहरीको फन्दामा परेका छन् । टिपर चालक धादिङ्ग सिद्धलेख गाउँपालिका–४ घरभई हाल चन्द्रागिरी नगरपालिका नैकाप काठमाडौँ बस्दै आएका ५० वर्षीय वेदबहादुर रानामगरलाई प्रहरीले पक्राऊ गरेको हो ।
टिपरको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको घट्नामा आक्रोसित भीडले जलाएको टिपरको आगो नियन्त्रण गर्न गएको दमकल तोडफोड गर्दा रु १० लाखको क्षति भएको छ ।

जुद्ध वारुणयन्त्र भक्तपुरले वारुणयन्त्रका सूचना अधिकारी विजय धौभडेलले आक्रमणबाट दमकलको अगाडिको सिसा पूर्ण रुपमा क्षति पुगेको छ भने दमकलको सबै भागमा ढुङ्गा र घरेलु हतियारले हानेर प्वाल नै प्वाल बनाइदिइएको बताएका छन् ।

दमकल जस्तो अत्यावश्यक साधनमा तोडफोड गर्ने र आक्रमण गरेर घाइते बनाउनेको पहिचान गरी कारबाही गर्न उहाँले प्रशासनसँग माग गर्नुभयो ।

मध्यपुर थिमि नगरपालिकाले हस्तान्तरण गरेको यो दमकल तोडफोडपछि मर्मत नगरी सञ्चालनमा आउने अवस्था छैन ।

आक्रमणमा जुद्ध वारुणयन्त्रका सूचना अधिकारी विजय धौभडेल, फायरमेन मञ्जय धौभडेल, राहुल नेपाल, उमेश ढकाल, रामचरण भुजु, गोपाल थापा, सवारी चालक राजकुमार श्रेष्ठ र राजकुमार गिरी घाइते भएका थिए ।

काभ्रेबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख ३६५० नम्बरको टिपरले हिजो साँझ बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठको घटनास्थल मै मृत्यु भएपछि सूर्यविनायक क्षेत्र तनावग्रस्त बनेको थियो ।

आक्रोसित भीडले टिपर जलाएपछि प्रहरी र भीडबीच ढुङ्गा हानाहान हुँदा १० जना प्रहरी घाइते भएको, स्थानीय घाइतेको तथ्याङ्ग नआएको र प्रहरीले नौ सेल अश्रृग्यास प्रहार गरेको प्रहरी उपरीक्षक हिमालयनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राऊ परेका रानामगरलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । त्यसैगरी ढुङ्गा हानेको अभियोगमा दुई जनालाई पक्राऊ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्