मनमनमा कुलमानः बेस्ट पर्सनालिटी अफ दी इयर सम्मान



२० असोज, काठमाडौं ।

जनताको मन जित्ने गरी काम गर्नुभएका नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनुभएको छ । इमेज अवार्डको २०औं संस्करणमा कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’बाट सम्मानित हुनुभएको हो ।
प्राधिकरणमा १८ घण्टासम्म रहेको लोडसेडिङ हटाएर उहाँले अहिले उज्यालो नेपालको सपना साकार पार्नुभएको छ । गते २०७३ सालको लक्ष्मीपूजाको रात पूरै काठमाडौं उज्यालो बनेको थियो । उक्त अभियानले निरन्तता पाउदै देश नै लोडसेडिङमुक्त भएको छ ।

उक्त परीक्षण सफल भएको आधारमा २०७३ चैत १ गतेदेखि देशव्यापीरुपमा लोडसेडिङ अन्त्य गर्न घिसिङ सफल हुनुभएको थियो । मुलुकले वर्षौंदेखि भोग्दै आएको लोडसेडिङको समस्याले आम सर्वसाधारण, औद्योगिक, सन्चार र अन्य सेवा प्रदायक क्षेत्र प्रत्यक्ष प्रभावित हुँदै आइरहेको थियो ।

२०२७ साल मंसिरमा रामेछापको साविब बेथान गाविस हाल सुनापती गाउँपालिका–४ बेथानमा जन्मिनु भएका घिसिङले २०५१ मा विद्युत प्राधिकरण सातौं तहका इन्जिनियर हुँदै रसुवाको चिलिमे जलविद्युत् परियोजनाको कार्यकारी निर्देशक हुनुभएको थियो ।
चिलिमेको सेयर स्थानीयलाई बाँडेर जलविद्युत् कम्पनीहरुले स्थानीयलाई सेयर दिनुपर्ने परिपाटी बसाल्न सफल हुनुभएका घिसिङले
कुशल व्यवस्थापकीय क्षमता प्रस्तुत् गरेर लोडसेडिङ अन्त्य गर्न सफल हुनुभएको थियो ।
वार्षिक करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको संस्थालाई जिम्मेवारी सम्हालेकै वर्ष नाफामा लान सफल घिसिङकै नेतृत्वमा प्राधिकरण आर्थिक वर्ष २०७४।७५ मा एक अर्ब खुद नाफा कमाइ विद्युत् चुहावट हालसम्मकै न्यून २० प्रतिशतमा झार्न सफल भएको छ ।

वर्षौंदेखि लोडसेडिङको मारले थिचिएका नेपालीमाझ उज्यालो प्रवाह गरी ऊर्जा क्षेत्रमा पद्दति बसालेर समृद्धिको मार्गप्रशस्त गरेका घिसिङ आज जनजनको मनमा बस्न सफल हुनुभएको छ । थुप्रै संघ–संस्थाबाट सम्मानित उनी हालै ‘सुप्रबल जनसेवा श्री’बाटसमेत सम्मानित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्