खाँडादेवी गाउँपालिकाले सुरु गर्यो घरेलु मदिरा नियन्त्रण अभियान



२४ असोज, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले गाउँपालिकाभित्र घरेलु मदिरा उत्पादन हुँदा समाजमा विकृत बढेको निष्कर्ष निकाल्दै नियन्त्रणको लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको बैठकले घरेले मदिराको कारण घरायसी झगडाको साथै महिला हिंसाको घटनामा समेत बृद्धि भएको बताउदै लागू औषधी नियन्त्रण र घरेलु मदिरा नियन्त्रण गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठको संयोजकत्वमा सुर्ती मदिरा र लागू औषधी नियन्त्रणको लागि १६ सदस्यीय समिति गठन भएको गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले समाजलाई समृद्धिको गतिमा अगाडि बढाउनको लागि सामाजिक रुपमा रहेको विकृति हटाउनु पहिलो काम भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘समाज रुपान्तरण गर्नको लागि भौतिक पूर्वाधार निर्माणको कामसँगै समाजमा रहेको सामाजिक विकृतिलाई पनि हटाउन आवश्यक छ ।’


गाउँपालिकाले नौ वटै वडामा सुर्ती मदिरा लागू औषध नियन्त्रण गर्नको लागि टोली गठन गरेर नै काम गर्ने छ । हरेक वडामा वडा अध्यक्ष संयोजक, वडा सामुदायिक प्रहरी, विद्यालयका शिक्षक, विद्यार्थीको सहभागीता गराइने, वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी गाउँपालिकाले बजार अनुगमनलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गरेको छ । गाउँपालिकाले गरेको निर्णय अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा गाउँपालिकाभित्र लगाइएको गाँजा खेती समेत नष्ट गरिएको गाउँपालिकाका अध्यक्ष तामाङले बताउनुभयो ।
उपाध्यक्ष मखमली श्रेष्ठले सुर्ती, मदिरा तथा लागु औषध सेवनका कारण व्यक्तिको स्वास्थ मात्र नभई परिवार, समाज र राष्ट्रलाई नै गम्भीर क्षति पुर्याइरहेको बताउदै बढ्दो सामाजिक अपराध एवम् महिला हिंसा, यौनजन्य हिंसा र बलात्कार समेतमा लागु औषध तथा मदिरा सेवन कारक रहेकाले नियन्त्रणको लागि अभियान सुरु गरिएको बताउनुभयो । उहाँले सामाजिक विकृतिलाई हटाउन सबैलाई आग्रह पनि गर्नुभयो

प्रतिक्रिया दिनुहोस्