सुनापती गाउँपालिकाका प्रवक्ताद्धारा राजिनामा



२६ असोज, रामेछाप ।
सुनापती गाउँपालिकाका प्रवक्ता प्रेम सागर थापाले पदबाट राजिनामा दिनुभएको छ । स्थानीय सरकार सञ्चालन नियमावली विपरीत प्रवक्ता बन्नुभएका थापालाई गाउँपालिकाले हटाउने तयारी गरेपछि बाँध्य भएर राजिनामा दिनुभएको हो । गाउँपालिकाको सूचना तथा सञ्चारको क्षेत्रमा राम्रो काम गर्न नसकेको भन्दै आरोप उहाँमाथि लाग्दै आएको थियो ।

सुनापती गाउँपालिका–५ खनियापानीबाट वडा सदस्य निर्वाचित भएको व्यक्तिलाई गाउँपालिकाको प्रवक्ता बनाएकोप्रति सुरुदेखि नै विरोध हुँदै आएको थियो । गाउँपालिकाभित्र भएको कामको सञ्चार माध्यमसँग जोडर उचित प्रचार गर्न नसकेको भन्दै पछिल्लो समयमा गाउँ कार्यपालिकाको बैठकभित्र नै थापाको चर्को आलोचना भएको थियो ।


स्थानीय सरकार सञ्चालन नियमावली अनुसार वडा सदस्यलाई गाउँपालिकाको प्रवक्ता बनाउन नपाइने प्राविधान रहेको छ । तर उहाँले विगतमा आफू सदरमुकाममा पूर्व माओवादी केन्द्रको कार्यालय सचिव भएर काम गरेको भन्दै नेताहरुलाई प्रभावमा पारेर नियम विपरीत प्रवक्ता बन्न सफल हुनुभएको थियो ।
थापाले गाउँपालिकाको हितलाई भन्दा पनि आफ्नो निहीत स्वार्थलाई केन्द्रमा राखेर काम गर्दा प्रचार प्रसारको काम प्रभावकारी नभएको भन्दै पछिल्लो समय राजिनामा दिन दबाब बढेको थियो । गाउँ कार्यपालिकाको बैठकभित्र नै प्रवक्ताले राजिनामा नदिए हटाउने चेतावनी सुरु भएपछि थापाले बाँध्य भएर गाउँपालिकाका अध्यक्ष धावा लामालाई राजिनामा पत्र बुझाएको र उक्त राजिनामा पत्र स्वीकृत भएको एक वडा अध्यक्षले रामेछाप न्युजलाई जानकारी दिए । उनले भने,‘नियम अनुसार प्रवक्ता नै बनाउन नहुने रहेछ, सुरुमा हामीलाई थाहा भएन, नियम भन्दा माथि हामी हुन सक्दैनौ, हटाउनु भन्दा थापाले राजिनामा पत्र बुझाएर राम्रो गर्नु भो ।’
गाउँपालिकाभित्र अबको प्रवक्ता को बन्ने छलफल सुरु भएको छ । पाँच जना वडा अध्यक्षबाट नै एक जनालाई प्रवक्ताको जिम्मेवारी दिने तयारी अध्यक्ष लामाले गर्नुभएको छ । गाउँपालिकाले उपयुक्त व्यक्तिलाई प्रवक्ताको जिम्मेवारी नदिदा प्रचार प्रसारको काम प्रभावकारी हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्